|

सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमै नपठाउँदा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो।

स्वास्थ्य संस्थामा पुगेका विरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य छन्।

मौसम परिवर्तनसँगै ज्वरो, पखाला लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजल समेत नहुँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएको स्थानीय रेमन्तजंग डाँगीले बताए। 

५८ प्रकारका औषधि पाइनुपर्ने प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरामा करिब १५ प्रकारका मात्रै औषधि रहेको प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज वीरबहादुर वलीले बताए। उनका अनुसार जीवनजलको समेत अभाव छ।

स्वास्थ्यचौकी झिम्पेमा बच्चाका लागि आवश्यक पारासिटामोल झोलको अभाव भएको र स्टक रहेका औषधि पनि सकिने क्रममा रहेको इन्चार्ज शिशिर रिजालले बताए। स्वास्थ्यचौकी दमाचौरका इन्चार्ज रूपक चन्दले विगतको तुलनामा योपटक स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको बताए।

गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले गाउँपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक पर्ने औषधि अभाव रहेको बताए। औषधि खरिदका लागि झण्डै तीन महिनाअघि नै माग फारम भरेर टिप्पणी समेत उठाइसकेको अवस्थामा विविध कारणले गर्दा औषधि खरिद गर्न नसकिएको बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खनालले भने यही महिनामै औषधि आइपुग्ने बताए। असार मसान्त भएकाले औषधि खरिदमा ढिलाइ भए पनि यही महिनामै औषधि आइपुग्ने र औषधि अभावको समस्या समाधान हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.