|

पाल्पा : आइतबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको छ जनाकै सनाखत भएको छ। 

दुर्घटनामा ज्याउन गुमाउने गुल्मीको चन्द्रकोट गाउँपालिका–८ मजुवाका १५ वर्षीय प्रवेश काफ्ले, गुल्मीकै मुसीकोट नगरपालिका– ७ का ४० वर्षीय लालबहादुर राना कुमाल र रूपन्देहीको देवदह नगरपालिका–७ का ८७ वर्षीया डिलसरी कामी रहेको प्रहरीले जनाएको छ।

यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सोमै, नवलपरासीको बर्दघाट नगरपालिका–९ की २४ वर्षीय पूर्णिमा कामी, बागलुङको बडिगार्ड गाउँपालिका–१० का ५५ वर्षीया यमकली थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। 

शव पाल्पा अस्पतालमा राखिएको छ। आफन्त आएपछि पोष्टमार्टम गरेर बुझाउने उनले बताए।

बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस तानसेन रिडी सडकखण्डको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। बस सडकभन्दा १०० मिटर तल खसेको थियो।

दुर्घटनामा परी १६ जना घाइते भएका छन्। घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले बताए। 

म्यादीको रूपा गाउँपालिका-२ की ३९ वर्षीय सुमित्रा रोका र रूपन्देहीको देवदह नगरपालिका–७ का ६१ वर्षीय खड्कबहादुर विकको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये ८ जनाको उपचार पछि डिस्चार्ज भएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.