फ्रि भिसा फ्रि टिकटमा पठाउने सरकारकाे तयारी

|

काठमाडौं : पछिल्लो समय नेपालबाट रोजगारीको खोजीमा संयुक्त अधिराज्य (यूके) मा ‘सिजनल वर्कर’को रुपमा जानेको संख्या बढ्न थालेको छ।

१० महिना अगाडि युकेले सिजन वर्करका लागि भिसा जारी गरेसँगै नेपाली युवा रोजगारीको खोजीमा सो स्थानमा जान थालेका हुन्।

सो भिसा प्राप्त गर्नका लागि कुनै संस्था वा म्यानपावरको भर पर्नुपर्ने हुँदैन व्यक्ति स्वयमले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तर, आफैले आवेदन दिन नजान्नले भने व्यक्ति अर्थात् एजेन्टको भर पर्दा ठगिने गरेको जानकारहरु बताउँछन्।

दोलखा घर भएका अजय पुरी (नाम परिवर्तन) रोजगारीको खोजीमा थिए। उनी कामको खोजी गर्दै दोलखाबाट काठमाडौं आएका थिए। उनका नजिकका साथीले सिजनल रोजगारी अर्थात् मौसमी रोजगारीका लागि युके जान पाइन्छ भन्ने थाहा पाए।

उनलाई आफैँले अनलाइन आवेदन दिन पाइन्छ भन्ने जानकारी समेत थिएन। पुरीलाई अरु देशमा जाने जस्तै सोचेर व्यक्तिको भर परे। युके रोजगारीमा जानका लागि ५ लाख खर्च गरेको उनले सुनाए। ५ लाख खर्चेर युके पुगेका अजय यतिवेला स्ट्रबेरी टिप्ने काम गर्दै आएका छन्। ६ देखि ८ घण्टासम्म ‘ड्युटी’ र प्रति घण्टा १०.१० पाउण्ड पारिश्रमिक पाएको उनले सुनाए।

त्यस्तै कन्चनपुर घर भएकी विमला घर्ती (नाम परिवर्तन) रोजगारीका लागि युके जाने सोच बनाइन्। आफैँले अनलाइन आवेदन दिइन्। जेठको पहिलो साता युके पुगिन्।

आवेदन फारम भर्दा  आफ्नो नम्बर इमेल आइडी छोडेकी थिइन्। आवेदन दिएको १० दिन पछि कम्पनीबाट उनलाई खबर आयो। १ लाख २० हजारमा टिकट काटेर आवेदन दिएको २१ दिनमा युके पुगिन्।

पछिल्लो समय क्यानडा, नर्वे, इजरायल लगायतका देशले  पनि सिजनल कामदार माग गर्दै आएका छन्। यसरी जाने कामदार सहजै जान सक्ने भए पनि प्रक्रिया नजान्नेले म्यानपावर तथा व्यक्तिको भर पर्दा नेपाली कामदार ठगिने गरेको जानकारहरु बताउँछन्।​

कति गए सिजनल भिसामा ?

सिजनल भिसाबाट झन्डै एक हजार नेपाली यूके पुगिसकेका छन् भने कतिपय जाने तयारीमा छन्। अहिलेसम्म कति जना नेपाली सिजनल भिसा मार्फत युके पुगे भन्ने यकिन तथ्यांक सरकारसँग छैन। सरकारले पठाएको नभई आफूखुसी जाने गरेकाले सरकारसँग यकिन तथ्यांक नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।

अहिले युकेका लागि विभिन्न चार वटा कम्पनीले विश्वभरबाट सिजनल कामदार भित्र्याइरहेका छन्। जुनसुकै देशबाट पनि अनलाइन मार्फत आवेदन गर्न सकिने कम्पनीहरुले जनाएका छन्।​

कति लाग्छ खर्च ?

युकेमा सिजनल भिसाका लागि आवेदन दस्तुर बापत २५९ पाउण्ड तिर्नुपर्छ। जुन लगभग ४० हजार नेपाली रूपैयाँ हो। यो बाहेक भिसा आइसकेपछि हवाई जहाजको टिकट काट्नु पर्छ। नेपालदेखि युकेसम्मको हवाई भाडादर एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म पर्ने जानकारहरु बताउँछन्।

स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ। यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदारको रूपमा युके जान सकिन्छ। तर, सिजनल वर्करको आवेदन प्रक्रिया थाहा नहुँदा कतिपय नेपाली युवा युवती दोब्बर वा सोभन्दा बढी रकम तिरेर गइरहेका छन्।​

छैन कामदार पठाउने मापदण्ड 

सिजनल वर्कर भिसामा नेपाली कामदार पठाउने मापदण्ड नभएको वैदेशिक रोजगार विभागले जनाएको छ। रोजगारीमा पठाउने मापदण्ड नभएकाले व्यक्तिगत श्रम स्वीकृतिमार्फत जाने गरेको विभागको भनाइ छ। युवाहरु २ वर्षका लागि खाडी जानुभन्दा त ६ महिनाका लागि युके जानु राम्रो कुरा हो। वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले भने, ‘रोजगारीमा जाने कामदार  कुनै समस्यामा परेको खण्डमा  विभागले केही गर्न सक्दैन।’

श्रम स्वीकृति लिएर गएका नेपालीलाई सरकारले राहत तथा उद्धारलगायतका सहयोग गर्दै आएको छ। तर यसरी जाने कामदारलाई समस्या पर्दा, अंगभंग हुँदा के हुने? ६ महिनामा कामदार स्वदेश नफर्किए के गर्ने ? बीमालगायतका विषयमा समस्या हुने गरेको छ।

यसलाई सरकारले कुनै निश्चित मापदण्ड बनाएर अगाडि बढ्नु पर्ने श्रम रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्।​

छैन विभागमा उजुरी 

रोजगारीको खोजीमा सिजनल भिसा मार्फत युके गएका र जाने प्रक्रियामा ठगिएको उजुरी नआएको वैदेशिक रोजगार विभागले जनाएको छ। महँगो शुल्क तिरेर जाने गरे पनि यसबारे कसैले उजुरी नगरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले  जानकारी दिए।​

कति नेपाली  गए युके ?

सरकारसँग रोजगारीको खोजीमा कति नेपाली सिजनल भिसामा युके पुगे भन्ने यकिन तथ्यांक छैन। तर, वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिएका मध्ये करिब १ हजार जना युके गएको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले जानकारी दिए।

यो तथ्यांक आर्थिक वर्ष २०७८/७९ को हो। तीमध्ये १ सय २८ जना महिला र ८ सय ९ जना पुरुष रहेका छन्।​

कार्यविधिको तयारीमा सरकार 

सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। अहिले युकेसँगै दक्षिण कोरिया, क्यानडालगायतका देशमा सिजनल वर्करको रुपमा नेपाली कामदार जान लागेको भन्दै त्यसलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।

उनले भने, ‘यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौँ। अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं।’ हाल नेपाली कामदार विभिन्न मुलुकमा काम गर्न गएका छन्, तिनलाई समस्यामा पर्दा सरकारले उद्धार गर्न सक्दैन।

कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दै आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ। उक्त कार्यविधिले मौसमी रोजगारका लागि विदेश लान वा जान मापदण्ड तय गर्ने, श्रम स्वीकृति दिने, कामको प्रकृतिसँगै आम्दानी, सुरक्षालगायतका विषयमा पनि ध्यान दिइने उनले बताए। सरकारले लागू गरेको 'फ्रि भिसा फ्रि टिकट'मार्फत कामदार पठाउने तयारी भएको मन्त्रालयको भनाइ छ।

सन् २०२१ मा युके सरकारले सिजनल वर्करको भिसा प्रणाली सन् २०२२ देखि २०२४ सम्म कायम हुने घोषणा गरेको थियो। युकेले सन् २०२२ मा ४० हजार कामदार भित्र्याउने योजना छ। जसमा ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको युके सरकारले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.