|

काठमाडौं : सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ। पुराना मुद्दा फस्र्योटका लागि गठित कार्यदलले सुझावअनुसार पाँच वर्षभन्दा पुराना मुद्दाका लागि छुट्टै फाँट सञ्चालनमा ल्याएको हो।

संवैधानिक इजलास बस्ने दिनबाहेक आवश्यकताअनुसार पुराना मुद्दा हेर्ने गरी असार १५ गतेदेखि इजलास पनि गठन भएको छ। पुराना मुद्दा व्यवस्थापनका लागि ‘अभियान फाँट’ तोकिएको छ। सोही फाँटले अब मुद्दा व्यवस्थापनका सम्पूर्ण कार्य गर्नेछ। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले संवैधानिक इजलास लाग्ने बाहेकका दिनमा अभियान फाँटका मुद्दाका लागि इजलास गठन भएको बताए। अहिले संवैधानिक इजलास साप्ताहिक रूपमा दुई दिन बस्ने अभ्यास छ।

बुधबार साप्ताहिक पेसी सूचीमा रहेका मुद्दा र शुक्रबार प्रारम्भिक सुनुवाइका लागि पेस हुने निवेदनका लागि संवैधानिक इजलास गठन हुने गरेको छ। प्रवक्ता पौडेलका अनुसार अहिले प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलास गठन गर्नुपर्ने मुद्दाको सङ्ख्या न्यून छ। जसकारण साप्ताहिक रूपमा बुधबार मात्र नियमित रूपमा इजलास गठन भइरहेको छ।

सर्वोच्चका अनुसार अहिले पाँच वर्षभन्दा पुनारा मुद्दाको सङ्ख्या चार हजार ८०२ थान छ। अभियान फाँटमा विचाराधीन मुद्दाको यो विवरण साउन १९ गतेसम्मको हो। चार हजार ८५४ मुद्दा बाँकी रहेकोमा साउन १९ सम्म ५२ थान मुद्दा फस्र्योट भएका छन्। यस्तै, दुई वर्षभन्दा बढी समयका पुराना मुद्दाको सङ्ख्या १७ हजार ३१७ छ। कुल लगतमा फुटकर निवेदन ५४१ र थुनुवा रहेका मुद्दा एक हजार ६९९ रहेका छन्।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वको सुझाव समितिले पुराना मुद्दा हेर्ने इजलास संवैधानिक इजलास लाग्नेबाहेकका अरू दिनमा राख्न सुझाव दिएको थियो। कार्यदलले २०८०८१ को अन्त्यसम्म पुराना मुद्दा शून्यमा झार्ने कार्ययोजना पनि सुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.