|

काठमाडौं : सरकारी जग्गा अतिक्रमण गरी अवैधरूपमा अस्पताल सञ्चालन गरेको भन्दै सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले २४ घण्टामा जग्गा खाली गर्न आदेश दिए थिए।

बालेनले २४ घण्टाभित्र उक्त जग्गा खाली गर्न सूचना टाँस गरेका थिए।

अस्पतालले सरकारी जग्गा अतिक्रमण गरेको आरोप अस्वीकार गरेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले महानगरपालिकाको सूचनाअनुसार एक दिनभित्रै जग्गा खाली गर्न सम्भव नरहेको जानकारी दिए। सरकारसँग अस्पतालले २० वर्षको लिज सम्झौता गरेर एक रोपनी जग्गा प्रयोग गर्दै आएको बताए।

उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत् वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाई जस्ता विरामीको उपचारमा अत्यावश्यक उपकरण राखी बिरामीको सेवा गर्दै आएको स्मरण गराउँदै सिंहले १०० जनाभन्दा बढी बिरामी उपचाररत रहेको र बिरामीको प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित रहेकाले २४ घण्टामा खाली गर्न नसक्ने जिकिर गरेका छन्।

उपचाररत बिरामीको स्वास्थ्य संवेदनशीलतालाई समेत मद्देनजर गरी उचित कानुनी प्रक्रिया अवलम्बन गर्न उनले आग्रह गरेका छन्। सरकारसँग कानुनी रूपमा सम्झौता गरेर लिइएको जग्गालाई अवैध प्रयोग गरिएको भन्ने आरोपले आफूलाई पूर्ण रूपले दुखी तुल्याएको सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.