|

ललितपुर : बाघ पाइने विश्वका १३ वटा देशको दोस्रो सम्मेलन दुई सातापछि रूसमा हुँदै छ।

बाघ पाइने मुलुकका मन्त्री सम्मीलित बैठक रूसको सेन्ट पिटर्सबर्गमा हुन लागेको हो। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भ्लादिभोस्तोकमा भदौ २० (सेप्टेम्बर ५) का लागि सम्मेलनका लागी आह्वान गरेका छन्। सम्मेलनका लागि सबै देशका वन र वातावरण हेर्ने मन्त्रीलाई आमन्त्रण गरिएको छ। 

बाघ पाइने देशहरुमा नेपालसहित भारत , बंगलादेश, भुटान, कम्बोडिया, चीन, इण्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, रुस, थाइल्यान्ड र भियतनाम हुन्।

युक्रेनको युद्धका कारण सम्मेलनमा सबै देश नआए पनि रुस जसरी पनि सम्मेलन गरिछाड्ने पक्षमा छ। सम्मेलनअघि भारतको नयाँ दिल्लीमा बाघ पाइने मुलुकका प्रतिनिधिको छलफल केही दिनअघि सम्पन्न भएको छ। रुसमा हुनेग्लोबल समिटमा उठाइने मुद्दा, बाघ संरक्षणका उपलब्धि, चुनौती र भावी योजनाका विषयमा छलफल गर्ने एजेण्डाका बारेमा भारतको प्रि–समिटमा छलफल भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिए।

छलफलमा चीन र इण्डोनेसिया भने तयारी बैठकमा सहभागी नभएको विभागका उपमहानिर्देशक ढकालले बताए।

सन् २०१० मा सेन्ट पिटर्सबर्गमा बाघलाई दोब्बर पुर्‍याउने प्रतिबद्धता सहित २०२२ मा सम्मेलन गरी बाघ संरक्षणबारेमा भएको प्रयास र सफलता या असफलताका विषयमा १३ देशबीच नै छलफल र आफ्ना अनुभव सुनाउने सहमति भएको थियो। त्यतिवेला ग्लोबल समिटअघि भारतमै प्रि–समिट पनि भएको थियो। विश्वमा पाइनेमध्ये८० प्रतिशत बाघ भारतमा भएको बताइन्छ।

भारतको प्रि–समिटलाई नेपालका तर्फबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निवर्तमान महानिर्देशक डा रामचन्द्र कँडेल नेतृत्वको टोलीले भाग लिएका थिए। टोलीमा विभागका उपमहानिर्देशक ढकाल, इकोलोजिस्ट डा.गणेश पन्त, बाघ संरक्षणमा सहयोगी रहेका पार्टनर संस्थाहरू राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीका नरेश सुवेदी, जेडएसएल नेपालका भगवानराज दाहाल र डब्लूडब्लूएफ नेपालका शिवराज भट्ट पनि सहभागी थिए।

नेपालमा बाघको संख्या पछिल्लो समय ३५५ पुगेको छ।  सन् २०१८ को गणनामा २३५ वटा बाघ रहेको नेपालमा ४ वर्षपछि १२० बढेर ३५५ पुगेको हो । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघ पाइने १३ मुलुकबीचको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वन तथा भूसंरक्षण मन्त्री दीपक बोहोरासहितको नेपाली टोलीले त्यो अन्तर्राष्ट्रिय समुदायमाझ सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो।

त्यतिवेला १२१ वटा बाघ रहेको थियो। लक्ष्य पूरा गर्ने नेपाल पहिलो राष्ट्र पनि बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.