|

सुर्खेत : भिरालो जमिनमाथि घरमाथि घर। त्यही भिरालो जमिनमा जबरजस्ती टाँसेर निर्माण गरिएका दुई वित्ते ​सडक निर्माण । सडकमा दुर्घटना पर्नेगरी पार्किङ गरिएका सवारी साधन।

जाजरकोट सदरमुकाम भेरी नगरपालिका–४ शान्तिचौतारादेखि वडा नम्बर ३ को तल्लो थाप्ले सम्मको दृश्य हो यो। यही भूभाग भित्र जिल्लाका सबै सरकारी कार्यालय छन्। स्थानीय सरकारको रूपमा रहेको भेरी नगरपालिका जाने र आउने बाटो समेत यहीँ छ। जाजरकोट–डोल्पा खण्डको एक भाग ( भेरी करिडोर) समेत यही सडक हो।

राति पानी पर्न थालेपछि यहाँका बासिन्दाले ज्यान जोगाउनका लागि घर नै छाड्नुपर्ने बाध्यता छ। जिल्लाको पुरानो बजार क्षेत्र रहेको ठाँटीबजार नजिकै होटल तथा स्थानीयवासीले फोहोर पानी जथाभावी खसाल्दा जमिन भासिएको छ।

यही ठाउँमा पटक पटक मर्मतका नाममा करोडौँ रकम खन्याए पनि जोखिम न्यूनीकरणको भरपर्दो काम अझै हुन सकेको छैन। सदरमुकामका अधिकांश ठाउँमा सामुदायिक तथा सरकारी जमिन समेत कब्जा गरेर घर टहरा निर्माण गरी अस्थायी बस्ती बसाउने कार्य तीव्र रूपमा बढेको छ। 

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री सत्य पहाडीले केही दिनअघि प्रतिनिधिसभाको बैठकमा जाजरकोट सदरमुकाम पहिरोको जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी थिइन्।

भेरी नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र रहेका विषयमा ध्यान नदिँदा सदरमुकामको हालत दयनीय बनेको छ। उद्योग वाणिज्य संघ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले सदरमुकामको भारवहन क्षमता भन्दा पनि बढी मानवीय क्रियाकलाप हुँदा अस्तित्व नै संकटमा परेको बताए। निजी स्तरबाट सञ्चालनमा रहेका बैंकका अगाडी सवारीसाधन पार्किङ गरी टिकट काट्ने स्थलका रूपमा निर्माण गरिएका छन्। 

भेरी नगरपालिकाले आँखै अगाडि बेथितिका चाङदेखि पनि नदेखेझै गरेर रमिते भएको भेरी– १ का बीरबहादुर बस्नेतले बताए। जिल्ला नापी कार्यालयले दिएको जानकारी अनुसार २१० वटा घर मात्र दर्ता भएको जमिनमा निर्माण गरिएका छन्। दलका जिल्लास्तरका नेताहरूले सरकारी तथा सामुदायिक वनको जग्गा मिचेर ठूला ठूला घर निर्माण भएको नापी कार्यालयको तथ्यांकमा उल्लेख छ। 

राज्यले पटक पटक लगानी गरे पनि त्यो लगानी बालुवाको महल सावित भएको छ। मानवीय क्रियाकलाप सही नभएकाले पैसाको खोलो बगाए पनि सुधार नआउने इन्जिनियर सन्तोष शाहीले बताए। काम भयो भनेर सामाजिक सञ्जालमा प्रचार गर्ने तर काम नगर्ने नगरपालिकाको प्रवृत्ति रहेसम्म समस्या समाधान नहुने नागरिकको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.