सरकारले परामर्शकाे व्यवस्था गर्नुपर्ने माग

|
फाइल तस्बिर

काठमाडौं : कक्षा–१२ को नतिजा प्रकाशित भएपछि यतिखेर विद्यार्थीहरु उच्च शिक्षा अर्थात ब्याचलरमा के विषय पढ्ने भनी चिन्ता लिन थालेका छन्।

अभिभावकहरु पनि कुन विषय कसरी अध्ययन गराउने भनी अन्योलमा छन्।

राष्ट्रिय परीक्षा बोर्डले भदौ १७ गते कक्षा–१२ को नतिजा सार्वजनिक गरे अनुसार नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १ सय ८५ जना सहभागी भएका थिए।

जसमध्ये १ लाख ८८ हजार ४ सय १० जना विद्यार्थीले नन ग्रेड ल्याएका छन्।

हुन त अधिकांशले माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेपछि कक्षा ११ र १२ पढ्दै कुन सङ्कायलिने भन्ने मनसाय लिइसकेका हुन्छन्।

तर, ब्याचलरमा पुगेपछि कुन विषय अध्ययन गर्दा भविष्यमा कस्तो फाइदा पुग्छ भन्ने जानकारी भने नहुन सक्छ।

यहाँ स्नातक तहमा चिकित्सा विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी, शिक्षाशास्त्र, कृषि, वन, आयुर्वेदिक, संस्कृत र कानुन सङ्कायको पढाइ भइरहेको छ।​

यस्तो छ शिक्षाविद्‌हरुको सुझाव

शिक्षाविद् प्राडा. विद्यानाथ कोइराला मुख्य त पहिलो प्राप्तांक नतिजा, दोस्रो अभिभावकहरुको खल्ती (आर्थिक अवस्था), शहरमा बसेर पढ्न सक्ने/नसक्ने यी चार सन्तुलनबाट मात्रै विषय छान्नुपर्ने बताउँछन्।

‘जुन विषय पढेपनि हुन्छ, विषयसँग गराइको सम्बन्ध हुँदैन, रोजगारीसँग जोडेर पनि नपढौँ, म चाहीँ पहिला रहर जोडौँ, रोजगारी खोज्दै गरौँला भन्छु, सबै सङ्काय राम्रै छन्,’ उनले भने।

निजी क्याम्पसहरुले अहिले नै विभिन्न विषयहरुको विज्ञापन गरिसकेका छन्। त्यसैले कस्तो क्याम्पस रोज्ने भन्ने विषयमा कोइराला सुझाउँछन्, ‘कलेजले व्यापार गर्न काइदा–काइदा कुराहरु भन्दा रहेछन, त्यसरी फसिन्छ बरु पहिला पढेका दिदी दाईहरु हुन्छन, उनीहरुबाट त्यहाँको पढाउने शैली, वातारण बुझेर मात्र भर्ना हुनुपर्छ, कलेजको मात्रै कुरा सुनियो भने फसिन्छ।’

त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल, पोखरालगायतले स्नातक तहमा विभिन्न संकायमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

अर्का शिक्षाविद् प्राडा. टंकनाथ शर्मा ब्याचलर अध्ययन गर्नुभन्दा अगाडि विद्यार्थीहरुको क्षमता, चाखको सही पहिचान हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘यो विषय पढ्छु भन्ने विद्यार्थीहरुमा भित्री मनबाटै इच्छा जाग्नुपर्छ, अहिले त भर्ना गर्ने मात्रै सोच छ, पढेर पछि के गर्ने सोच नै छैन, यस्तो होइन, पछि यो पेशा लिन्छु भनी सङ्काय/विषय छान्नुपर्छ।’

अभिभावकहरु आफ्ना छोराछोरीहरु भविष्यमा डाक्टर, इन्जिनियर र पाइलट बनोस भन्ने सपना बोकेका हुन्छन्। तर, यी सबै सपना विद्यार्थीहरुले पूरा गर्न नसक्ने शर्मा बताउँछन्।

उनले भने, ‘अर्काले यो विषय पढ्यो म पनि यही पढ्छु भन्ने पनि होइन, बाबु आमाले डाक्टर इन्जिनियर पढ्नुपर्छ भनेर पनि हुँदैन, त्यो विषय पढ्न सक्छ सक्दैन भन्ने महत्वपूर्ण कुरा हो, त्यसैले विद्यार्थीहरुमा भएको क्षमता अनुसार अघि बढ्नुपर्छ।’

उनी धेरै अंक ल्याए वा क्षमता भए प्राविधिक विषय पढ्न सुझाउँछन्। पेशा व्यवसाय गर्छु भन्ने विद्यार्थीहरुमा मन भए मानविकी सङ्काय, वित्तीय संघ संस्थामा काम गर्छु भन्नेले व्यवस्थापन र शिक्षण पेसा लिन्छु भन्नेले शिक्षा सङ्काय, हाेटल व्यवसाय/काम गर्न होटेल व्यवस्थापन विषय पढ्न सुझाव दिन्छन्।

‘उच्च शिक्षा पढेपछि त्यसको प्रतिफल निस्किनुपर्छ तर अहिले भने उच्च शिक्षा भनेको केवल सर्टिफिकेट लिनेमात्रै  भयो, यसको उपयोग कहाँ छ कसरी गर्ने निश्चित हुनुपर्छ,’ उनले भने।

उनी अहिले नै भविष्यमा के गर्छु भनी सोच बनाइहाल्नुपर्ने बताउँछन्। ‘प्राविधिक उच्च शिक्षा पढ्नेहरु त आफ्नो क्षमता अनुसार पढ्लान,’ उनले भने, ‘तर अलिक कमजोर अंक ल्याएका अथवा प्राविधिक क्षेत्रमा जान नचाहनेहरुले पेशागत क्षेत्र लक्षित गरेर पढ्नुपर्छ, अब विद्यार्थीहरु पेशा व्यावसायसँग जोडिनुपर्छ।’​

सरकारले परामर्शकाे व्यवस्था गर्न माग

शिक्षाविद् शर्मा सरकारले विद्यार्थीहले के–कस्ता विषय पढ्ने, पछि के अवसर प्राप्त हुन्छ ? भनी जानकारी दिन परामर्श केन्द्र खोल्नुपर्ने माग गर्छन। ‘विद्यार्थीहरुलाई सल्लाह सुझाव दिइने व्यवस्था देशमा हुनुपर्ने हो तर भएन, परामर्शको खाँचो छ, सरकारले व्यवस्था गर्नुपर्छ,’ उनले भने।

अहिलेको कक्षा–१२ नतिजा सन्तोषजनक नरहेको उनी पाउँछन्। ‘अहिलेको नतिजा दुःख लाग्दो छ,’ उनले भने, ‘शिक्षा क्षेत्रमा काम गर्नेहरु नाक ठड्याएर हिँड्ने परिस्थिति बनेको छैन, शिक्षा मन्त्रालय सुधारका काम गर्दैन, अब पाठ्यक्रम, परीक्षा प्रणाली सुधार हुनु आवश्यक छ।’

अहिले विद्यार्थीहरु अर्का साथीले जुन विषय पढ्छु भन्छ त्यही विषय पढ्ने प्रचलन बढेको छ। तर, साथीको लहैलहैमा विषय नछान्नुपर्ने उनको सुझाव छ। बरु शिक्षक, अभिभावकलगायतसँग सल्लाह माग्नुपर्ने अनुरोध उनको छ।

उनले भने, ‘म चाही विद्यार्थीहरुलाई कुनै विषय छान्दा त्यो विषय पढेर आयआर्जन गर्न सक्छ/सक्दैन, पेशामा दक्षतासाथ काम गर्न सक्छ/सक्दैन, रोजगारीको अवसर प्राप्त हुन्छ/हुँदैन यसलाई ध्यानमा राख्नुपर्छ भन्छु।’ उनको अर्को पनि माग छ, उच्च शिक्षा अध्ययन गर्न बाहिर जानेहरुका लागि यहीँ देशमै बसेर पढ्ने व्यवस्था सरकारले  गर्नुपर्ने माग गर्छन् उनी।

उनले भने, ‘अहिले कक्षा ११,१२ पढ्यो कि उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिका, जापानलगायतका देश जाने लहर छ, यो दुःख लाग्दो कुरा हो, आर्थिक अवस्था कमजोर भएकाले पनि ऋण काढेरै भएपनि बाहिर जाने प्रचलन छ, यो मुलुकको लागि ठीक छैन्, नेपालमा उच्च शिक्षामा पेशासँग खोजेको जस्तो किमिसको शैक्षिक कार्यक्रम बनाउन नसकिएको हो कि अध्ययनको विषय छ, सरकारले बेलैमा सोच्नुपर्छ।’ व्यवहारमा नभए डिग्री हातमा मात्रै हुनुले कुनै अर्थ नराख्ने उनले बताए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.