|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को आयु लम्ब्याउन नहुने बताएका छन्। 

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै उनले संसद्को आयु लम्ब्याउने कुरा आजै संसद्‌बाट फिर्ता हुने बताएका हुन्।

प्रमुख सचेतकहरूले केही प्राविधिक समस्याका कारण यस्तो सोचे पनि संसद्‌को आयु लम्ब्याउने दिशामा गठबन्धन नरहेको उनले स्पष्ट पारे। मंसिर ४ गतेको चुनावका लागि मनोनयनपछि संसद् नरहने बताए। 

उनले भने, ‘संशोधन गइरहेको छ, आयु लम्ब्याउनेतिर जानु हुँदैन भन्नेमा गठबन्धनले छलफल गरिसकेको छ। मंसिर ४ गते चुनाव हुन्छ, मनोनयनपछि संसद् रहँदैन । त्यसमा दुविधा छैन, बीचमा केही टेक्निकल कारणले समय लम्ब्याउने कि भन्ने संसद्‌भित्र प्रमुख सचेतकहरूले त्यो सोच्नुभएको रहेछ। शायद आजै केही समय थप्ने कि भन्ने कुरा फिर्ता हुन्छ।’

विगत ५ वर्षमा सरकारले जनताको आशाअनुरूपको काम गर्न नसकेको स्वीकार गरे। वाम एकतापछि आफूले धेरै ठूलो सपना देखेको उल्लेख गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेकोले जनताका सपना पूरा गर्न नपाएको बताए। 

देशमा राजनीतिक स्थिरताको आवश्यक्ता रहेको उल्लेख गर्दै निर्वाचनपछि बन्ने सरकारले जनताका सपना पूरा गर्ने प्रतिबद्धता जनाए। गत वर्ष संविधान मिचिने हो कि भन्ने संशय पैदा भएको भन्दै आगामी निर्वाचन सकिएसँगै संविधान मिच्ने खतरा नेपालबाट टरेर जाने दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.