पर्यटक आकर्षणका लागि छैन योजना

|

रुकुम (पूर्व) : साविक रुकुमबाट छुट्टै जिल्ला बनेर कामकाज थालिएपछि रुकुमपूर्वलाई नेपाल सरकारले हिमाली जिल्ला बनायो। २०७४ असोज १९ गतेको राजपत्रमा रुकुमपूर्व ‘क’ वर्गको हिमाली जिल्ला भएको सूचीमा छापिएको थियो।

देशभरका अन्य १९ र रुकुमपूर्वसहित २० हिमाली जिल्ला भएको सूचना नेपाल सरकारले राजपत्रमै छापेको छ।

हिमाली जिल्ला हुनको लागि विभिन्न मापदण्ड हुनुपर्छ। त्यस अनुसार रुकुमपूर्वमा धेरै हिमाल तथा हिमशृङखला रहेकाले ‘क’ वर्गकै हिमाली जिल्लाको रूपमै सरकारले वर्गीकृत गर्‍यो।

जस अनुसार करिब आधा दर्जन पाँच हजार मिटर भन्दा अग्ला हिमाल यसै जिल्लामा रहेका छन्।

७ हजार २ सय ४६ मिटर अग्लो पुथा, ६ हजार ५ सय ३६ मिटर अग्लो दोगारी, ५ हजार ९ सय २४ मिटर अग्लो साम्जाङ, ५ हजार ९ सय ११ मिटर अग्लो सिस्ने र ५ हजार ८ सय ३३ मिटर अग्लो ङिम्कुँ गरी पाँच वटा हिमाल यहीँ जिल्लामा रहेका छन्।​

पुथा, दोगारी, साम्जाङ र ङिम्कुँ चार हिमाल पुथाउत्तरगङ्गा गाउँपालिका १ र २ वडामा छन्। भने सिस्ने हिमाल सिस्ने गाउँपालिका–१ मा अवस्थित रहेको छ। पुथा र सिस्ने यी दुई हिमालबाट गाउँपालिकाको नामकरण गरिएको छ। त्यसकारण यी दुई हिमाल पछिल्लो समय चर्चामा छन्।

तर, दोगारी, साम्जाङ र ङिम्कुँ तीन हिमाल भने गुमनाम अवस्थामा रहेका छन्। यी सबै पर्यटकीय गन्तव्य सुनसान छन्। प्रचार छैन। आफ्नै प्रदेशमा हिमाल रहेको बारे अन्य जिल्लाका बासिन्दा बेखबर छन्।

आफ्नो नियमित कार्यक्रम बाहेक हिउँचुलीलाई मध्येनजर गरेर छुट्टै पर्यटन विकासका लागि प्याकेजका कार्यक्रम नरहेको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्ती मगरले बताए।

‘हाल सम्म पत्ता लागेका हिमालहरूलाई प्रचारप्रसार गर्नका लागि पुथा सर्किटमार्फत गाउँपालिकामा अवस्थित हिमशृङ्खलालाई थप अध्ययन अनुसन्धान गर्ने सोचमा छौँ’ अध्यक्ष घर्ती मगरले भने, ‘पुथा सर्किटमार्फत थप अध्ययन अनुसन्धानबाट आएको प्रतिवेदन अनुसार गाउँपालिकाले पहलकदमी चाल्ने छ।’

गाउँपालिकामा अवस्थित हिमालहरू एउटै हिमशृङ्खलामा रहेका छन्। सिस्ने गाउँपालिकाको पनि सिस्ने हिमाल सम्बन्धी छुट्टै पर्यटन प्रवर्द्धनका कार्यक्रम नभएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.