|

म्याग्दी : तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा कलिलै उमेरमा होमिएका बेनी नगरपालिका–२, ज्यामरुककोटका दिपेन्द्र परियारको साथका हातहतियार हुन्थ्यो।

सामान्य बम, ग्रिनेड, पेस्तोल, थ्री नट थ्री र एसएलआरका लगायतका हतियारसँग करिब आधा दशक बिताएका परियार सबैभन्दा ठूलो मानिएको बेनी आक्रमण र पाल्पाको तानसेन बजार भिडन्तमा समेत सहभागी भए। 

०५९ सालमा माओवादीको जनसेनामा भर्ती भएका परियारलाई करिब एक दर्जन साना–ठूला भिडन्तमा मृत्युसँग पौँठेजोरी खेलेको अनुभव छ । 

समाज र राज्य परिवर्तन गर्ने सकिन विश्वाससहित ‘मर्न र मार्न’तयार भएका परियार शान्ति प्रक्रियापछि परिवारको हातमुख जोड्न समेत धौ–धौ भएपछि खाडी मुलुक साउदी अरबमा पाँच वर्ष बिताएर फर्किए। 

युद्ध र खाडीको अनुभवपछि परियारले अहिले आफ्नो पुरानो सीप प्रयोग गरी समाजमा संघर्ष गरिरहेका छन् । खाडीबाट फर्किएपछि दुई छाकको जोहो गर्न पुख्यौली पेशा निरन्तरता दिँदै हातमा सहनाई समातेर नौमती र पञ्चेबाजामा व्यस्त छन् । गोली बारूद खेलाएको विगत बिर्सिँदै अहिले पञ्चे र नौमती बाजाको मुख्य भुमिकामा रहेको सहनाई कमाइको माध्यम बनाएका छन् । आठ वर्षकै उमेरमा सहनाई सिकेका परियारले गुजारा चलाउन पुरानै सीप सहारा भएको महसुस गरेर गाउँदेखि सहर बजारमा हुने व्यक्तिगत तथा सार्वजनिक कार्यक्रममा आफ्नै नेतृत्वमा पुग्छन् । 

‘युद्धबाट फर्किएपछि मैले गरेका सबै संघर्षभन्दा यो पेशाले सन्तुष्टि मिलेको छ, ‘अब पुर्ख्यौली पेशालाई नै निरन्तरता दिन्छु’ परियारले भने। युद्धमा बन्दुक, खाडीमा फलाम समातेको हातले अहिले विभिन्न जिल्लामा पुगेर प्रशिक्षण समेत दिने गरेको परियारले बताए। उनले बाँके, चितवन, कास्की लगायतका जिल्लामा समेत पुगेर एक महिनासम्म प्रशिक्षण दिएका छन्। उनले प्रशिक्षकको रूपमा न्यूनतम ३० हजारदेखि ६० हजारसम्म लिएको बताए । ज्यामरुककोट नौमती बाजा समूहमार्फत उनले स्थानीय स्तरमा समेत तालिम दिने गरेका छन् ।

परियारको मुख्य भूमिका सहनाई भए पनि कर्नल सहित नौमती र पञ्चेबाजामा रहेका सबै बाजा बजाउने गरेका छन्। परियारलाई रघुगंगा गाउँपालिका २ का आशिष परियार र बेनी नगरपालिका–५ खोरगैराका रामजी परियारले ट्याम्को बनाएर साथ दिने गरेका छन्। म्याग्दीमा तीनै जना एउटै समूहमा राखेर बोलाउने गरिन्छ।  म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं २ का आशिष परियारले ढलकी बाजामा फरक स्वाद दिने गर्छन्। उनी पुग्ने हरेक कार्यक्रम, विवाह लगायतका समारोहमा ढलकी मात्रै बजाउँदैनन् नाच्दै अरूलाई पनि नचाउँछन् । 

एउटा टोली बनाएर पञ्चेबाजा बनाउँदै हिँडेका दिपेन्द्रले नयाँ पुस्ताले चासो नदिँदा पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको गुनासो गरे। उनले आफ्नो समूहमा रहेका युवा समेत घरखर्च चलाउन नसकेर धमाधम वैदेशिक रोजगारीमा जाने गरेको बताए। उनी स्थानीय सरकारले वडास्तरमै तालिम तथा जिल्लामा समेत प्रशिक्षण केन्द्र बनाएर बाजाको संरक्षण गर्नुपर्ने बताउँछन्।

पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण केही वर्षपछि जनशक्ति नै पाउन मुस्किल हुने बताए। ‘मैले वडाका जनप्रतिनिधिलाई पनि भनेको छु,‘अब यो पेशाबाट पनि घरखर्च चलाउन सकिन्छ,‘बाजाको संरक्षणमा सरकारी निकायबाट चासो कम भयो’, दिपेन्द्रले भने। सीप स्थानीयस्तरमा समेत अभाव हुदाँ कला कला र संस्कृति नै जोखिममा पर्ने उनको चिन्ता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.