|

संखुवासभा : संखुवासभाको जिल्ला अस्पतालमा कार्यरत कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई अस्पतालका कर्मचारी माथि कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

सहकर्मी कुटपिट गरेको आरोपमा अस्पतालकै हेल्थ असिस्टेन्ट(एचए) श्रेष्ठलाई बुधबार बिहान अस्पताल नजिकैबाट नियन्त्रणमा लिएको डिएसपी गोदारले बताए।

हेल्थ असिस्टेन्ट श्रेष्ठले अस्पतालका फार्मेसी इन्चार्ज धीरज रौनियार र अस्पतालका सूचना अधिकारीसमेत रहेका मेडिकल रेकर्डर सुपरभाइजर शेखर खत्रीलाई मंगलबार साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा कुटपिट गरेको अस्पताल सूचना अधिकारी खत्रीले जानकारी दिए।

अस्पतालका सूचना अधिकारी खत्रीले भने हामी साँझ खाना खाएर अस्पतालकै क्वाटरमा बसिरहेका थियौँ एक्कासी कोठामा आएर दिपेश श्रेष्ठले म र धीरज रौनियार सरलाई आक्रमण गर्नुभयो।’ कुटपिटपछि अस्पतालका कर्मचारीसहित गएका पीडित रौनियार र खत्री तत्काल जिल्ला प्रहरी कार्यालय उजुरी दर्ता गराउन गएका थिए।

कर्मचारीले कर्मचारीलाई नै गरेको आक्रमण निन्दनीय भएको भन्दै आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने पीडितको माग छ। तर, अस्पताल व्यवस्थापन समितिका केही पदाधिकारीहरुले किटानी जाहेरी नगर्न दवाव दिएको पीडितहरुले बताए। समितिका केही पदाधिकारी घटनालाई बाहिरै मिलाउनका लागि परेका छन्।

श्रेष्ठ पक्षका समिति पदाधिकारी घटना सामान्य रहेको भन्दै घटना ढाकछोप तर्फ केन्द्रित भएको पीडितको गुनासो छ। घटनाबारे अस्पताल प्रशासन र अस्पताल व्यवस्थान समितिसमेत मौन रहेको छ।

यस अघि पनि श्रेष्ठले कर्मचारीहरुलाई पटक पटक हातपात गरेको आरोप थियो। त्यसबेला सबै घटना अस्पतालभित्रै मिलाउने गरेको कर्मचारीहरु बताउँछन्। लामो समयदेखि स्थानीय कर्मचारीको प्रभावमा रहेको जिल्ला अस्पतालमा बाहिरबाट आएका कर्मचारीको दवावमा बस्नु बाध्यता रहँदै आएको कर्मचारीहरुको गुनासो छ।

चार वर्षदेखि प्रमुख भएका श्रेष्ठले केही दिनअघि मात्र प्रशासन प्रमुखको जिम्मेवारीबाट राजीनामा दिएका थिए। आक्रमण गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

कर्मचारीमाथि आक्रमण भएपछि मंगलबार साँझ अस्पतालको सेवासमेत प्रभावित भएको थियो। आक्रमणको खबर डाक्टर र अन्य अधिकांश कर्मचारी अस्पताल बाहिरका थिए। कर्मचारीमाथि आक्रमण भएपछि डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुमा त्रास फैलिएको एक कर्मचारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.