‘जति माग भए पनि मासुको अभाव हुँदैन’

|

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाे पशु सेवा विभागले यो वर्ष दशैँका लागि काठमाडौं उपत्यकाभित्र करिब ७० हजार खसीबोका र च्याङ्‍ग्रा चाहिने अनुमान गरेको छ। कोरोना प्रभाव नभएकाले यो वर्ष माग बढ्ने अनुमान गरिएको विभागले जनाएको छ।

विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार गत वर्ष करिब ५५ हजार खसीबोका र भेडा च्याङ्‍ग्राको माग थियो। ‘केही दिनअघि बाख्रापालन व्यवसायी लगायत सम्बद्ध निकायसँग बसेर छलफल भएको थियो। त्यो वेला यो वर्ष कोरोना असर नभएकाले गत वर्षको भन्दा बढी अर्थात् ६० देखि ७० हजार चाहिने कुरा आएको छ’‚ उनले भने। 

उनले उपत्यकामा जति माग भए पनि मासु आपूर्तिमा समस्या नहुने दाबी गरे। उनका अनुसार अहिले व्यवसायीहरूले विभिन्न जिल्लाबाट काठमाडौंमा खसीबोका ल्याउन तयारी गरिरहेका छन्।

व्यवसायीहरूले जति मासुको माग छ त्यही मागअनुसार खसीबोका, च्याङ्‍ग्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले जानकारी दिए। ‘बेलैमा यहाँ ल्याउँदा राख्ने ठाउँ हुँदैन, दानापानी व्यवस्था गर्नैपर्‍याे। त्यसैले सप्तमी,अष्टमीबाट मात्र विक्री वितरण हुन थाल्छ’‚ उनले भने।

खाद्य कम्पनीले तीन हजार खसीबाेका ल्याउने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि करिब ३ हजार खसीबोका र च्याङ्‍ग्रा ल्याउने भएको छ। कम्पनी लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार वीरगञ्ज, हेटौंडा, मुस्ताङलगायत जिल्लाबाट २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा खरिद गरेर ल्याइनेछ।

खसीबोका र च्याङ्ग्राको बिक्रीवितरण घटस्थापनाको भोलिपल्टदेखि गरिनेछ। त्यसका लागि एक दुई दिनअगाडि मात्रै खसी बोका काठमाडौं ल्याउने तयारी छ। ‘बजारमा सम्बन्धित कर्मचारी खटाएर खसी–बोका,च्याङ्‍ग्राको खोजी गर्ने र मोलमोलाइ गर्ने काम भइरहेको छ’‚ उनले भनिन्।

कम्पनी लिमिटेडले दशैँ लक्षित गरी असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म देशभर सहुलियत खाद्यान्न पसल पनि सञ्चालन गर्ने जनाएको छ। लिमिटेडका अनुसार चामल, नून, तेललगायत वस्तु बिक्री वितरण गरिनेछ।

सूचना अधिकारी न्यौपाने सुवेदीले ४१ जिल्लाका ४४ ठाउँबाट पसल सञ्चालन हुने जानकारी दिइन्। साविकको मूल्यभन्दा ७ देखि १० रुपैयाँसम्म ती पसलमा छुट हुने उनको भनाइ छ। कम्पनी लिमिटेडले वर्षेनि चाडपर्व लक्षित सहुलियत खाद्यान्न व्यवस्था गर्दै आएको छ। 

यी रङका मात्रै खसीबोका किन्न सुझाव

पशु सेवा विभागका सूचना अधिकारी ढकालले नेपाल गुणस्तर तथा नापतौल विभागलगायत सम्बन्धित निकायसँगको समन्वयमा खसीबोका र च्याङ्‍ग्रा बजारमा अनुगमन गर्ने योजना बनाएको बताए।

‘बजार अनुगमन गर्न टोली बनाएका छौँ, दशैँ आउन हप्ता दिन बाँकी रहँदा बजारमा खसीबोकाको अनुगमन हुन्छ। बेच्न राखिएका खसीबोका खान योग्य छन् कि छैनन् भनी जाँच गरिनेछ’‚ उनले भने। उनले त्यही दिनबाट गुणस्तरीय मासुका लागि खसीबोका छुट्याउने जानकारी दिए।

‘स्वच्छ, खान योग्य र राम्रो खसीबोकाको सिङमा हरियो रङ लगाउनेछौँ’‚ उनले भने, ‘विरामी भएकालाई रातो रङ लगाउँछौँ। त्यो चाहिँ निश्चित समय तोकेर खान योग्य भएपछि मात्रै व्यवसायीले विक्रीवितरण गर्न पाउनेछन्। त्यसअघि पाउने छैनन्।’ उनले कम्पनी लिमिटेडबाट खरिद गरिएका खसीबोका सहुलियत मूल्यमा बेचिने जानकारी दिए। ‘प्रतिकेजी २० रुपैयाँसम्म छुट हुन्छ’‚ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.