|

सल्यान : सल्यानका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्। परम्परागत खेती भन्दा मौसमी तथा बेमौसमी तरकारी उत्पादनबाट दोब्बर आम्दानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्।

अन्नबाली छाडेर व्यावसायिक तरकारी गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट गजबको आम्दानी गर्दै आइरहेका छन्।

१५ रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएकी कपुरकोट गाउँपालिका ५ कि गीता गिरीले पछिल्लो समय महिलाहरु पनि व्यवसायिक तरकारी खेतीमा जुटेको बताइन्। एक सिजनमा बजार मूल्य राम्रो भएमा १५ देखि १६ लाखसम्म आम्दानी हुने उनको भनाई छ। उनले भनिन्, ‘हामीले बेमौसमी तरकारी खेती गर्ने भएको मूल्यको त समस्या हुँदैन तरकारीले मूल्य पाएन भनेको वर्ष पनि केही नभएपनि १० देखि ११ लाखसम्म आम्दानी हुन्छ।’

घरायसी काममा मात्र व्यस्त हुने महिलाहरु पनि व्यवसायतिर आकर्षित हुँदै आइरहेको उनको भनाई छ। जसले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहज बनाएको छ।

यस्तै विगत २६ वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका प्रकाश केसीले तरकारी खेती त्यागेर विदेश जाने कहिले सोच नआएको बताए।

'​एक सिजनमा घरमै बसी कम्तीमा पनि ८ लाखसम्म आम्दानी भइहाल्छ। त्यति आम्दानी भएपछि विदेश जाने सोच आउने कुरा पनि भएन', उनले भने, ‘मैले तरकारी खेती सुरु गरेको झन्डै २६ वर्ष भयो अहिलेसम्म निरन्तर गरिरहेको छु। आजभोलि त झनै पहिलेको जस्तो तरकारी बोकेर बजार जानु पर्दैन। आफ्नै घर आँगनबाट गाडीले लैजान्छ।’

पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता कपुरकोटवासीमा नरहेको अर्का किसान डिल्ली केसीले बताए। कपुरकोट गाउँपालिकामा झन्डै ३५ सय किसानले तरकारी खेती गर्दै आइरहेको बताउँदै उनले विदेशको भन्दा राम्रो आम्दानी आफ्नै जमिनमा गरिरहेको बताए। जेठको दोस्रो सातादेखि मंसिर अन्तिमसम्म यहाँका किसानलाई तरकारी बजारीकरण गर्नमै फुर्सद नहुने केसीको भनाई छ।

विदेशमा बगाउने श्रम र पसिना यदि आफ्नै खेतबारीमा बगाउन सक्ने हो भने विदेशको भन्दा बढी पैसा कमाउन सकिने किसान किरण डिसीको भनाई छ। एक जनाले सिजनमा ५ देखि ६ लाख कमाउन सकिन्छ भने विदेश किन जाने प्रति प्रश्न गर्दै डिसीले भने, विदेशको मोह त्यागौँ स्वदेशमै केही गरेर स्वरोजगार बनौँ।

सल्यान मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि प्रख्यात ठाउँका रुपमा चिनिन्छ। जिल्लामा वार्षिक ८० करोडको तरकारी उत्पादन हुने कृषि विकास कार्यालय सल्यानले जनाएको छ। कृषिलाई मर्यादित र सम्मानित पेसाको रुपमा विकास गर्न र किसानहरुलाई कृषिबाट नै आत्मनिर्भर बनाउन कृषि ब्लक निर्माण गरिरहेको कृषि विकास कार्यालय सल्यानका प्रमुख भरत कुमार बस्नेतले जानकारी दिए। उनले भने, ‘जिल्लाका किसानको  तरकारी नगदेबालीका रुपमा रहेको छ। जिल्लामा मौसमी भन्दा बेमौसमी तरकारी बढी उत्पादन हुदै आइरहेको छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.