शिक्षाविद् भन्छन् : यो वेला सोचपत्र ल्याउनु देखावटीमात्र हो

|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘शिक्षाकाे सोचपत्र २०७९’ सार्वजनिक गरेका छन्।

शिक्षामन्त्रीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सोचपत्रमा शिक्षा सुधारका लागि ५, १० र १५ वर्षे योजना, उद्देश्य र लक्ष्यसहित विभिन्न कार्यक्रम समेटिएका छन्।  

यो सोचपत्रलाई दुई चरणमा कार्यान्वयन गरिने भनिएको छ। पहिलो चरणमा भएका कानुनको कार्यान्वयन र आवश्यकताअनुसार कानुन परिमार्जनमार्फत सोचपत्रको कार्यान्वयन गर्ने र दोस्रो चरणमा आवश्यक नयाँ कानुन, संरचना तथा पूर्वाधारको निर्माण गरी सोचपत्रको पूर्ण कार्यान्वयन गरिने भनिएको छ।

तर शिक्षामन्त्री पौडेललकै कार्यकाल सकिन लागेको छ। उनी २०७८ साल असोज २२ गते शिक्षामन्त्री भएका थिए। उनको कार्यकाल एक वर्ष पुग्नै लाग्दा त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खुलेको छैन। त्रिविको ताला खुलाउन सफल हुन सकेका छैनन्।

आगामी मंसिर ४ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन हुन अब २ महिना मात्र बाँकी छ। त्यसपछि नयाँ सरकार बन्नेछ। जसमा शिक्षामन्त्री अरु नै भए वा आफैँ नियुक्त भए पनि कार्यान्वयनमा नलगे शिक्षामन्त्री पौडेलको शिक्षा सोचपत्र अलपत्र पर्ने निश्चितप्रायः छ।

यस्तो छ शिक्षामन्त्रीको सोचपत्र

सोचपत्रमा प्रारम्भिक बाल विकास तथा शिक्षाको उद्देश्यमा ५ वर्षमा एक विद्यालय एक बाल विकास केन्द्र स्थापना, न्यूनतम भौतिक पूर्वाधार, योग्य शिक्षक, पौष्टिक खाजा र आधारभूत स्वास्थ्य सेवाको व्यवस्था गर्ने उल्लेख छ। ९० प्रतिशत बालबालिका पूर्व प्राथमिक शिक्षकको अनुभवसहित कक्षा–१ मा भर्ना गर्ने लक्ष्य छ।

१० वर्षमा मनोरञ्जन सामग्रीको पर्याप्तता, प्रत्येक केन्द्रमा बाल स्याहार कर्मचारीको व्यवस्था, बालमैत्री वातावरणको सुनिश्चितता गर्ने, १०० प्रतिशत बालबालिका पूर्व प्राथमिक शिक्षाको अनुभवसहित कक्षा–१ मा भर्ना गर्ने उल्लेख छ।

१५ वर्षमा समुदायको स्वःस्फूर्त संलग्नता, बाल उद्यान, बालबालिका रमाउने अभिभावक सन्तुष्ट हुने स्थल हुने सोचपत्रमा भनिएको छ।

सोचपत्रमा विद्यालय शिक्षाको पाँचवर्षे उद्देश्य विद्यालय र सबै शिक्षण संस्थामा न्यूनतम मापदण्ड पूरा गर्ने, निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन, शिक्षकलाई विद्यार्थीको सिकाइप्रति जवाफदेही, प्रविधिको उपयोग गर्न सक्षम, शैक्षिक ज्ञान‚ सिप र तौरतरिकामा परिर्वतन भई कक्षा कोठामा प्रतिविम्बित गर्न सक्षम गर्ने उद्देश्य छ।

सिकाइ उपलब्धिमा २० प्रतिशत सुधार गरिने उल्लेख छ। १० वर्षमा आदर्श शैक्षिक वातावरण निर्माण, सार्वजनिक शिक्षामा आकर्षण र विश्वास, शैक्षिक गुणस्तर सुनिश्चित, शिक्षकको सिकाइमा नविन प्रविधिको खोजी, विद्यालय तहमा क्षमता विकासको अवसर, सिकाइ उपलब्धि ४० प्रतिशत पुर्‍याउने लक्ष्य छ।

१५ वर्षमा सबै विद्यालय समान स्तर‚ विद्यालय शिक्षामा अन्तरराष्ट्रिय गुणस्तर कायम गर्ने भनिएको छ। उच्च सिकाइ उपलब्धि, अन्तरराष्ट्रिय स्तरको उपलब्धि गर्ने लक्ष्य छ। त्यस्तै, सोचपत्रमा उच्च शिक्षाका लक्ष्य र उद्देश्यहरू पनि समेटिएको छ।

पाँच वर्षभित्र पहुँच ३० प्रतिशत पुर्‍याउने, विद्यार्थीहरूलाई डिजिटलमैत्री र खोजमुखी तथा अध्ययनशील बनाउने उद्देश्य सोचपत्रमा उल्लेख छ।

१० वर्षमा ५० प्रतिशत उच्च शिक्षा पहुँच बनाउने, गुणस्तर सुनिश्चितता र अनुसन्धानमुखी बनाउने लक्ष्य छ। १५ वर्ष मा ७५ प्रतिशतको उच्च शिक्षामा पहुँच पुर्‍याउने, उत्कृष्ट प्राज्ञिक केन्द्र‚ विश्वस्तरीय शैक्षिक केन्द्र, असल नागरिक स्वरोजगारमुखी बनाउने लगायत अन्य कार्यक्रमका उद्देश्यहरू सोचपत्रमा उल्लेख गरिएको छ। 

शिक्षाविद् भन्छन् : यो समयमा सोचपत्र ल्याउनु देखावट मात्र

शिक्षाविद् प्राडा टंकनाथ शर्माले यो समयमा शिक्षाको सोचपत्र ल्याउनु गलत रहेको र लोकप्रियता कमाउन मात्रै ल्याएको बताए। उनले भने, ‘शिक्षामन्त्री भएको एक वर्ष भइसक्यो, अहिलेसम्म के हेरेर बस्नु भयो?, जब चुनाव घोषणा हुन्छ, अनि कार्यक्रम ल्याउने?, यो सब देखावटका लागि मात्रै हो।’

उनले अहिलेसम्म शिक्षाका लागि ठोस योजना ल्याएर शैक्षिक सुधार गर्ने शिक्षामन्त्री नआएको बताए। ‘अहिले सोचपत्र ल्यायो, पछि उहाँ नै शिक्षामन्त्री हुनुहुन्छ भन्ने के ग्यारेन्टी?,’ उनले भने, ‘अहिलेसम्म जो शिक्षामन्त्री आए पनि दीर्घकालीन ठोस योजना ल्याउने र कार्यान्वयन गरेर शिक्षा क्षेत्र सुधार्ने सक्ने कोही आएका छैनन्, यही कारण यो अवस्थामा शिक्षा क्षेत्र पुग्यो।’

उनले यस्ता उद्देश्यका साथ ल्याइएका कार्यक्रम विज्ञहरूसँग छलफल नै नगरी ल्याउने गरिएको पनि बताए। ‘हुन त उहाँको पकेटका विज्ञसँग छलफल भयो होला तर के कार्यक्रम कसरी लागू गर्दा परिणाम निस्किन्छ भन्ने विज्ञहरुलाई छलफलमा बोलाइएको हुँदैन। यही कारण सबै नीति कार्यक्रम अलपत्र परेका हुन,’ उनले भने।

यसो भन्छन् शिक्षामन्त्री र राज्यमन्त्री

शिक्षामन्त्री पौडेलले पहिलो प्राथमिकता भौतिक पूर्वाधार निर्माण गर्ने र दोस्रोमा शिक्षण सिकाइ सुधार गर्ने रहेको बताए।

उनले मंगलबार भएको पत्रकार सम्मेलनमा भने, ‘पहिलेभन्दा भौतिक पूर्वाधारमा सुधार भएको छ, २७ हजार सामुदायिक विद्यालयमध्ये १३ हजारको पूर्वाधार निर्माण सम्पन्न भएको छ, ३ वर्षमा बाँकी संरचना बनाउने छौँ। अबको विद्यालय कस्तो, के-के बनाउने भनेर नक्सांकन गरेका छौँ, यी सबै सोचपत्रमा समेटिएका छन्।’

१० वर्षमा झण्डै ११ प्रतिशत शिक्षण सिकाइ सुधार भएको उनको दाबी छ। ‘५२ प्रतिशत इन्टरनेट सेवा सबै ठाउँमा पुगेको छ। कलेजहरूको अनुगमन गर्ने‚ नियम पालना नगरे कारबाही गर्ने, ५ वर्षमा यहाँ पुर्‍याउने‚ १० वर्षमा यहाँ यो अवस्थामा पुर्‍याउने भनेर लक्ष्यसहित सोचपत्र बनेको छ। यही उद्देश्य लिएर काम गरिने छ,’ उनले भने।

उनले संघीय शिक्षा ऐन छलफलबाट छिटै पारित गर्ने पनि बताए। ‘संघीय शिक्षा ऐन क्याबिनेटको समितिमा छ,अब राष्ट्रियसभामा पुग्छ,’ उनले भने, ‘आगामी वर्षमा शैक्षिक क्यालेन्डर बनाइ कार्यान्वयन गछौँ। यसबाट थप शैक्षिक सुधारका निम्ति सहयोग पुग्नेछ।’

गुणस्तरीय, प्रतिस्पर्धी, जीवनोपयोगी, सिर्जनशील, अनुसन्धानमुखी एवं नवप्रवर्तनात्मक र मागमा आधारित शिक्षा बनाउन यो सोचपत्र ल्याएको उनको भनाइ छ। 

यो सोचपत्र अझै सरोकारवालाहरूको सल्लाह र सुझावको आधारमा परिमार्जन गर्न सकिने मन्त्रालयले जनाएको छ। शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले पनि पहिलाको शिक्षासम्बन्धी कार्य विवरण हेर्दा शिक्षा क्षेत्रमा धेरै सुधार आएको दाबी गर्दै खुशी व्यक्त गरिन्।

उनले भनिन्, ‘अफ्ठ्यारोका बाबजुद पनि नयाँ नीति कार्यान्वयनमा ल्याउन बनाउन सफल भएका छौँ, पूर्वाधार विकास, सूचना प्रविधिको कार्यक्रम भइरहेको छ। विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति, अभिभावक समेटेर शिक्षामा सफलता मिल्नेछ, सोचपत्रले शिक्षा क्षेत्रमा धेरै सफलता मिल्नेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.