|

ललितपुर : परम्परागत नेवारी खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ ललितपुरमा योमरी प्रतियोगिता गरिएको छ। युरोपियन युनियनको सहयोगमा स्वीच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा सञ्चालित पर्य–सम्पदा परियोजना अन्तरगत भएको प्रतियोगितामा विभिन्न होटल म्यानेजमेन्ट कलेजमा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए।​

योमरीको साइज र स्वरूपको आधारमा एकेडेमी अफ कुलिनरी आर्टका विद्यार्थी पहिलो भएका छन्। यस्तै योमरीको स्वादका आधारमा सिल्भर माउन्टेन कलेज अफ होटल म्यानेजमेन्टले जजहरुको मन जितेको छ।

सहभागी विद्यार्थीहरूले बनाएको योमरीलाई स्वाद, कला, साइज र बनाउने तरिका अनुसार अङ्क प्रदान गरिएको थियो। प्रतियोगिताको निरीक्षण गरेर सेफ एशोसिएसन नेपालका अध्यक्ष श्याम याङ लामा र भिलेज क्याफेकी किचन हेड हरिदेवी श्रेष्ठले अंकभार दिएका थिए।

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले परम्परागत नेवारी कला, संस्कृति र खानालाई प्रवर्द्धन गर्न सके अधिकांशले रोजगारी पाउने तर्क गरिन्।

नेवारी खानालाई प्रवर्द्धन गर्ने योजना नीति तथा कार्यक्रममा नै समावेश गरेर अघि बढेकाले यसमा सक्दो काम गर्ने उनको योजना छ। उपमेयर शाक्यले भनिन्, ‘ललितपुरका सम्पदा बस्तीका प्रत्येक घर र टोल सीप एवं कौशलले भरिपूर्ण छन्। त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने जिम्मेवारीलाई मैले गम्भीरतापूर्वक लिएको छु।’ परम्परागत खानाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन थोरै परिमार्जन गरेर भए पनि प्रवर्द्धन गर्नुपर्नेमा उनको जोड छ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना जोशीले सामाजिक एवं सांस्कृतिक परिवर्तनले गर्दा आफ्नै खाना नचिन्ने अवस्था आइसकेकाले त्यसको जगेर्ना गर्न नै चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरेकी छिन्। परम्परागत खानालाई व्यवसायिक बनाउने सोचहरुको विकास हुन सके मात्रै यसको प्रवर्द्धन हुने उनको भनाई छ।

परम्परागत खानाको व्यवसायिक उत्पादन गरे त्यसको गुण र सुरक्षाका प्राविधिक कुरा जाँच गर्न आफूहरुले सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाइन्।

यस्तै कार्यक्रममा बोल्दै युएन ह्याबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीलाई पर्यटनसँग जोड्न सके मात्र स्थानीयको आर्थिक विकास हुने बताइन्। त्यसैले पर्य–सम्पदा परियोजना अन्तरगत बुङ्गमतीको काष्ठकला, होमस्टेसँगै परम्परागत खाना प्रवर्द्धनका लागि विभिन्न क्रियाकलाप भएको उनले स्मरण गरिन्।

नेवारी खाना सांस्कृतिक हिसाबले मात्रै नभई वैज्ञानिक हिसाबले पनि महत्वपूर्ण भएकाले यसलाई एउटा बस्ती, समाजमा मात्रै सीमित राख्न नहुनेमा उनको जोड छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.