|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह भइरहेको बताएका छन्। बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए।

उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए।

उनले सरकार गठन गर्नेदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे। अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे।

अध्यक्ष ओलीले भने, ‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन्। यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ। यस्तो स्थितिमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन आइरहेको छ। यो निर्वाचनले एकातिर देशमा सरकार गठन गर्नेकुरा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्नेकुरा सभामुखदेखि लिएर अन्य पदाधिकारीको निर्वाचन गर्नेकुरा, सरकार गठन भनेपछि प्रधानमन्त्रीदेखि लिएर सरकार गठन गर्नेकुरा, प्रदेश सरकार गठन गर्नेकुरा र भोलि गएर आवधिक निर्वाचन गर्नेकुरा छ। यसले विभिन्न ठाउँमा महत्व स्थापना गर्नेछ। देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अरुलाई सक्दैन। त्यसकारण आज देश एमालेमय बन्दै गएको छ, पार्टी प्रवेशको लहर बढ्दै गएको छ। यस लहरलाई तीब्र गतिमा अघि बढाउनुपरेको छ।’

अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.