|

डडेल्धुरा : डडेल्धुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला अदालतमा बिहीबार एक कार्यक्रम गरेर मुख्य निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको हो।

यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

जिल्ला अदालत डडेल्धुराबाटै मुख्य निर्वाचन अधिकृतको कार्यालयले कामकाज अगाडि बढाउनेछ। जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेलाई मुख्य निर्वाचन अधिकृतको रूपमा तोकिएको छ। मुख्य निर्वाचन अधिकृत वाग्लेले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित भयरहित र विश्वसनीय बनाउनका लागि प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत वाग्ले, जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी, अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।

कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण कामअघि बढाउने, चुनाव चिह्न प्रदान, निर्वाचन आचारसंहिता पालना गरे/नगरेको अनुगमन गर्नेछ। डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.