|

गुल्मी/ काठमाडौं : आगामी मङसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा गुल्मीमा  नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनका लागि जित सहज हुने देखिएको छ।

प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेता डा चन्द्र भण्डारी र एमालेका नेता प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा हुँदैछ।

यसैगरी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीका सचिव रामकुमारी झाँक्री र एमाले नेता गोकर्णराज विष्टबीच  प्रतिस्पर्धा हुँदैछ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’ नेपाली कांग्रेसका नेता घनेन्द्र कार्की र एमाले  चिन्तामणि पाण्डेय तथा ‘ख’ मा माओवादी नेता सुदर्शन बरालसँग एमाले नेता सदस्य फर्सुराम पाण्डेयले प्रतिस्पर्धा गर्दै छन्।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर–२  अन्तर्गत प्रदेश सभा ‘क’ मा नेपाली कांग्रसेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठसँग एमाले नेता डिल्लिराज भुसाल तथा प्रदेशसभा ‘ख’ मा माओवादी जिल्ला इन्चार्ज बुद्धि जिसीसँग एमाले नेता दिनेश पन्थीले प्रतिस्पर्धा गर्दै छन्।

कांग्रेस नेतृत्वको गठबन्धनको तर्फबाट प्रदेससभा तर्फका उम्मेदवार श्रेष्ठ, जिसी, बराल र कार्की जिल्लामा राम्रो प्रभाव भएका नेताका रुपमा परिचित छन्।  माओवादी नेता बराल लुम्बिनी प्रदेश अध्यक्ष तथा लुम्बिनी प्रदेश सरकारका पूर्वसामाजिक विकासमन्त्री हुन्। बुद्धिबहादुर जिसी माओवादी केन्द्रका गुल्मी जिल्ला इन्चार्ज हुन्।

भण्डारीलाई सहज ज्ञवालीलाई सकस

गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका केन्द्रीय नेताहरु डा चन्द्र भण्डारी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीबीचको चुनावी प्रतिस्पर्धालाई महत्वका साथ हेरिएको छ।

यसपटकको चुनावी प्रतिस्पर्धामा डा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीका लागि भारी पर्ने लगभग निश्चित छ। केन्द्रीय राजनीतिमा राम्रो स्थान बनाएका यी दुई नेताबीच २०६४ सालदेखि चुनावी प्रतिस्पर्धी हुँदै आएको छ। जसअनुसार पहिलो संविधानसभाको निर्वाचनमा ज्ञवाली  र दोस्रोमा भण्डारी विजय भएका थिए।

२०७४ सालमा माओवादी–एमालेबीच चुनावी गठबन्धन भएका कारण भण्डारी झिनो मतले पराजित भए। यसपटक परिस्थित ठिक उल्टो अर्थात् माओवादी केन्द्र र माओवादीलगायत पाँच दलीय गठबन्धन भएका कारण ज्ञवालीलाई चुनाव जित्न अत्यन्तै कठिन हुने आँकलन गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनले प्रभावशाली व्यक्तिलाई उम्मेदवार बनाएका कारण गठबन्धनको भोट क्रस हुने सम्भावना कम छ। 

गत स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने नेता भण्डारी झण्डै ४ हजार बढी मतले चुनाव जित्ने पक्का छ। २०७० सालको संविधानसभामा दोस्रो निर्वाचनमा जितेका भण्डारीलाई यसपटक अझ सहज देखिन्छ।

गत स्थानीय निर्वाचनमा प्रदीप ज्ञवालीको आधार क्षेत्र मानिने रुरु गाउँपालिमा गठबन्धनको सहयोगमा माओवादीले चुनाव जितेको छ।

यसैगरी, एमाले प्रभाव क्षेत्र मानिने चन्द्रकोट गाउँपालिकामा एमाले पछिल्लो समय कमजोर बनेको छ। २०७४ को निर्वाचनमा प्रतिनिधिसभाका सभाका सबै सिट जितेको एमाले–माओवादी गठबन्धन टुक्रिएपछि गत स्थानीय निर्वाचनमा एमाले १२ पालिकामध्ये तीनवटमा खुम्चिएको छ। एमाले माओवादीले ९ वटा पालिकामा जित हासिल गरेका छन्।

नेता ज्ञवालीप्रति कार्यकर्ताकै असन्तुष्टि

एमाले नेता प्रदीप ज्ञवाली जिल्लाबाट लगातार चुनाव जित्ने र मन्त्री बन्ने नेतामा पर्छन्। उनीमाथि केन्द्रको राजनीतिमा सफल देखिए पनि जिल्लाको विकासमा अपेक्षित ध्यान दिन नसकेको आरोप लाग्ने गरेको छ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै केपी ओली नेतृत्वको नेकपाले झण्डै दुईतिहाइ मत पाएको थियो। उक्त उपलब्धि जोगाउन नसक्दा शक्तिशाली सरकार र पार्टीसमेत विघटन भएको थियो।

एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा दुईपटक प्रतिनिधिसभा विघटन गर्दा ज्ञवालीले अन्धभक्त रूपमा समर्थन गरेको र पार्टीमा आन्तरिक समस्या सुरु हुँदा ओलीकै साथमा रहेका कारण एमाले कार्यकर्ता ज्ञवालीमाथि रुष्ट बनेका छन्।

ज्ञवालीमाथि पार्टी विभाजनलाई रोक्नभन्दा बढी विभाजनका लागि भूमिका खेलेको समेत आरोप लाग्ने गरेको छ। यसले उनलाई पार्टी भित्रैबाट चुनावमा असहयोग हुने अनुमान गरिएको छ।

अघिल्लो चुनावमा पराजित चन्द्र भण्डारी भने जिल्लाको विकासमा निरन्तर सक्रिय रहेको रहँदै आएका छन्। संविधानसभा सदस्य निर्वाचित भएपछि नेता भण्डारीको पहलमा सालझण्डी–खर्जयाङ–शान्तिपुर सडक सुरु भएको थियो।

बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबामा पहिरोका कारण बर्सेनि ठूलो जनधनको क्षति भएपछि त्यसको विकल्पको रुपमा सालझण्डीबाट दुइ लेनको सडक विस्तार भएको थियो।

गुल्मी जिल्लाको एकमात्र विमानस्थलको निर्माण तथा रिडी–बुर्तीवाङ तथा चोरकाटे– शान्तिपुर सडक विस्तारमा भण्डारीको पहलकदमीलाई मतदाताले आगामी चुनावमा मूल्यांकन गर्ने विश्वास गरिएको छ।

नेता भण्डारीको नेतृत्वमा सुरु भएको अखण्ड लुम्बिनी प्रदेश आन्दोलनका कारण तराइबाट पहाडी जिल्ला अलग हुनबाट जोगिएको थियो। राष्ट्रियताको सवालमा स्पष्ट दृष्टिकोण राख्ने र पार्टी राजनीतिभन्दा माथि उठन सक्ने भण्डारी भ्रष्टाचारविरोधी अभियन्ता रूपमा आम नागरिकले रुचाएका नेताका रुपमा परिचित छन्।

आगामी चुनावमा निर्वाचित भए र गठबन्धनले बहुमत पाएमा नेता भण्डारी मन्त्री लगभग पक्का भएकाले जिल्लाको विकासको लागिसमेत मतदातको रोजाइमा पर्ने देखिन्छ।

यसैगरी, गुल्मी क्षेत्र नम्बर–२ मा समाजवादी पार्टीकी प्रभावशाली नेतृ रामकुमारी झाँकी प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ र प्रदेशसभा ‘ख’ मा माओवादीका गुल्मी जिल्ला इन्चार्ज बुद्धि बहादुर जिसीसँग एमालेका उम्मेदवारलाई चुनाव जित्न कठिन हुने आँकलन गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.