|

सल्यान : सल्यानमा बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको छ। असोजमा परेको पानीका कारण सल्यानका १० स्थानीय तहमा ६४ घर पूर्णरुपमा क्षति भएका छन्। ९१ घर पहिरोको जोखिममा परेका छन्। पहिरो र वर्षाले घर भत्किँदा ८४ घरपरिवार विस्थापित भएका छन्।

पहिरोले च्यापिएर शारदा नगरपालिका ८ मार्केका वर्ष १३ का अजय विक, पहिरोसँगै खसेको ढुंगाले लागेर त्रिवेणी गाउँपालिका २ गैरागिठीका ४४ वर्षीय चन्द्रबहादुर पुन र खोलाले बगाएर कालिमाटी गाउँपालिका ५ लामितराका ६५ वर्षीय नरबहादुर दर्लामीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिकामा ६, बागचौर नगरपालिकामा ११, बनगाड कुपिण्डे नगरपालिकामा २३, कपुरकोट गाउँपालिकामा १३, त्रिवेणीमा ४, दार्मामा १, सिद्धकुमाखमा २, कुमाखमा ४, कालिमाटीमा ११, छत्रेश्वरी गाउँपालिकामा ९ परिवार विस्थापित भएका छन्।

त्यस्तै शारदा नगरपालिकामा १, बागचौर नगरपालिकामा ४, बनगाड कुपिण्डे नगरपालिकामा २६, छत्रेश्वरीमा ४, कालिमाटीमा ८, कुमाखमा ९कपुरकोटमा ५, त्रिवेणीमा ३, दार्मामा १, सिंद्धकुमाख गाउँपालिकामा २ घर पूर्ण रुपमा क्षति भएका छन्। 

शारदा नगरपालिकामा १२, बागचौर नगरपालिकामा ८, बनगाड कुपिण्डे नगरपालिकामा ४, छत्रेश्वरीमा २, कालिमाटीमा ५, कुमाखमा १, कपुरकोटमा २, त्रिवेणी गाउँपालिकामा २ घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।  विस्थापित विभिन्न विद्यालयको भवनमा र आफन्तकको आश्रयमा रहेको प्रहरी खनालले बताए। 

बाढीपहिरोले उच्च जोखिममा परेका सबै परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको र उनीहरूलाई पालिकामार्फत खाने र बस्ने व्यवस्था मिलाइएको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए। 

कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले कपुरकोट गाउँपालिका ५ सल्लाममा बस्ती नजिकैबाट पहिरो जाँदा विस्थापित भएका १३ घरमध्ये ८ घरका परिवारलाई स्थानीय विद्यालयमा राखिएको र पाँच परिवार आफन्तको घरमा बसेको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.