|

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाल पुलिस क्लबको महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा शुक्रबार भएको महिला टी-२० क्रिकेटमा पुलिसले तेस्रो खेलमा पनि विजय प्राप्त गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। ११ औँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता समेत रहेको उक्त खेलमा पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा आएको लुम्बिनी प्रदेशले १२ दशमलव ५ ओभरमा १० विकेटको क्षतिमा १५ रन मात्र बनाउन सक्यो।

प्रतियोगिताअन्तर्गत ब्याटिङतर्फ नेपाल पुलिस क्लबकी काजल श्रेष्ठले १ रन, रुबिना क्षेत्रीले ५ रन, सम्झना खड्काले २९ रन, अप्सरी बेगमले १० रन, सुभा रोकायले १ रन, कविता जोशीले ४८ रन, ईश्वरी विष्टले १ रन र सबनम राईले २ रन जोडेका थिए भने अतिरिक्त १५ रन प्राप्त भएको थियो।

बलिङतर्फ नेपाल पुलिस क्लबकी ईश्वरी विष्टले ४ विकेट, हिरुमई राय र रूबिना क्षेत्रीले २/२ विकेट र सबनम राईले १ विकेट लिएका थिए। खेलमा ४८ रन बनाएकी नेपाल पुलिस क्लबकी कविता जोशी प्लेयर अफ द म्याच घोषित भइन्।

जितसँगै नेपाल प्रहरीको महिला क्रिकेट टिम समूह ’बी’ मा ६ अङ्कसहित समूह विजेता बनेको हो। पुलिसको महिला क्रिकेट टिमले असोज ३१ गते समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनल खेल खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.