|

रौतहट : रौतहट क्षेत्र नं ४ को संघीय संसदमा त्रिपक्षीय भिडन्त हुने भएको छ। सत्ता गठबन्धनका तर्फबाट संघिय संसदमा पुर्व संसद देव प्रसाद तिमल्सिना मैदानमा छन्। नेकपा एमाले जसपा गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मी मैदानमा छन्।

यो क्षेत्रमा नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका अजय कुमार साहले स्वतन्त्र उम्मेदवारी दिएर प्रचार थालेपछि रौतहट क्षेत्र नं–४ मा त्रिपक्षीय भिडन्त हुने भएको हो।

यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) र (ख) मा पनि त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको देखिएको छ।

प्रदेशसभा (क) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका युवराज भट्टराई, नेकपा एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ र नेकपा एमालेका अखिलेश्वर चौधरीबीच प्रतिष्पर्धा हुने भएको छ।

यस्तै रौतहट ४ को प्रदेशसभा तर्फको (ख) मा नेकपा एमाले जसपा गठबन्धनका तर्फबाट पूर्व प्रदेशसभा सदस्य अबुल कलाम आजाद उर्फ फुलबाबु, सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका मोहमद सतार र स्वतन्त्रबाट रबी जयसावल र जयनाथ यादव मैदानमा रहेका छन्।

सत्ता गठबन्धनलाई चुनौती दिँदै एकीकृत समाजवादीले आफ्नै चुनाव चिन्हबाट रौतहट क्षेत्र नं ४ को  (क) प्रदेशसभामा उम्मेदवारी दर्ता गराएपछि गठबन्धनमै दरार पैदा भएको अवस्था रहेको छ।

सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका संघीय संसदका उम्मेदवार देवप्रसाद तिमिल्सिनाले यसभन्दा पहिलासमेत आफूले नेकपा गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउन सफल भएको र यस पटकसमेत जनताले आफूलाई मत दिएर जिताउने बताउँछन्।

नेकपा एमाले र जसपा गठबन्धनका तर्फबाट संघीय संसदका उम्मेदवार बनेका उद्धव रेग्मीले यस पटक जनताले आफूलाई जिताउने पक्का रहेको बताउँदै आएका छन्। २०४६ साल पछि भएका हरेक निर्वाचनमा यो क्षेत्रका जनताले दोस्रो पटक कुनै उम्मेदवारलाई जिताएर पठाएको इतिहास नभएकाले यस पटक जित आफ्नो पक्का रहेको रेग्मीको भनाइ रहेको छ।

उता नेपाली कांग्रेस कुनैपनि हालतमा चुनाव जितेर रौतहट क्षेत्र नं ४ मा दुई पटक चुनाव जितेर इतिहासका रच्नका लागि मरिमेटेर लागि परेको छ। नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका अजय कुमार साहले आफूलाई पार्टीले अवसर नदिएको भन्दै स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रेका छन्।

चापाकल चुनाव चिन्ह लिएर मैदानमा उत्रेका अजय कुमार साहको उम्मेदवारी यो क्षेत्रमा नेपाली कांग्रेसलाई घाटा हुने अनुमान गरिएको छ। रौतहट ४ को संघीय संसदको यो निर्वाचन इतिहास रच्ने र इतिहास तोड्ने बीचको प्रतिस्पर्धाको रुपमा देखा परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.