|

माधव बेल्बासे

चन्द्रौटा : प्रतिनिधिसभाअन्तर्गत कपिलवस्तु क्षेत्र नं. २ मा तीन पूर्वमन्त्रीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्य, नेकपा एमालेका वृजेशकुमार गुप्ता र लोकतान्त्रिक समाजवादी पार्टीबाट अकबल अहमद शाह उम्मेदवार बनेका छन्।

आचार्य पूर्वसिचाइँ राज्यमन्त्री, गुप्ता पूर्वकानुनमन्त्री र शाह पूर्व कृषि तथा सहकारी मन्त्री हुन्। दुई कार्यकालसम्म नेपाली काँग्रेसका जिल्ला सभापति सम्हालेका आचार्य हाल नेपाली काँग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री रहेका छन्। २०७० सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. ४ बाट निर्वाचित आचार्य सिँचाइ राज्यमन्त्री भएका थिए।

२०७४ सालका निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका आचार्य वाम गठबन्धनसँग तीन हजार ५८१ मतले पराजित भएका थिए। अहिले आचार्य नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेदवार बनेको हुँदा बलियो उम्मेदवारका रूपमा देखिएका छन्।

उनको क्षेत्रमा रहेका दुईवटा पालिका नेपाली काँग्रेसले जितेको हुँदा जित्ने सम्भावना रहेको देखिएको छ। बुद्धभूमि नगरपालिका र महाराजगन्ज नगरपालिकामा आचार्य निकटका व्यक्तिले जितेकाले थप प्रभाव रहेको बुझिएको छ। उनले २०७४ को निर्वाचनमा ३१ हजार ५६६ मत ल्याएका थिए।

२०७४ सालमा अत्यधिक मत सहित स्वतन्त्र भन्दै सूर्य चिह्नबाट लडेका वृजेश गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन्। २०५६ सालमा राप्रपाबाट राजनीति शुरु गरेका गुप्ता चारपटक सांसद निर्वाचित भएका थिए।

उनी यो अवधिमा कानूनमन्त्री समेत भए। हृदयेश त्रिपाठी निकट रहेका गुप्तालाई केही समयअघि एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका थिए। उनी राप्रपा, तमलोपा, स्वतन्त्र हुँदै एमाले भएका हुन्। उनी २०७४ को निर्वाचनमा ३५ हजार १४७ मत ल्याई निर्वाचित भएका थिए।

मधेश क्षेत्रमा राम्रो प्रभाव रहेका उम्मेदवार अकबल अहमद शाह लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन्। पुराना कम्युनिस्ट नेताको रूपमा परिचय बनाएका शाह कृषि तथा सहकारीमन्त्री समेत भइसकेका व्यक्ति हुन्। एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह पनि कडा प्रतिस्पर्धामा रहेका छन्।

समानुपातिकबाट संविधानसभा सदस्य भएका शाह योपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्। डा. बाबुराम भट्टराईको सरकारमा उनी कृषिमन्त्री भएका थिए। शाहले निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरेका छन्। तीनजना प्रभावशाली नेता रहेकाले यहाँ कडा टक्कर हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.