|

टी-२० विश्वकपमा बंगलादेशले विजयी शुरुवात गरेको छ।

अस्ट्रेलियाको होबर्टमा सोमबार भएको खेलमा बंगलादेशले एसोसिएटेड कन्ट्री नेदरल्यान्ड्स्सलाई ९ रनले पराजित गर्दै सुपर १२ मा विजयी शुरुवात गरेको हो। समूह २ अन्तर्गत भएको खेलमा नेदरल्यान्ड्सले मध्यम स्कोरको लक्ष्य भेट्टाउन असफल हुँदा बंगलादेशले २ अंक हात पार्‍यो।

टस हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ३५ रनमै समेटिएपछि बंगलादेशले प्रतियोगितामा ९ रनको जित निकाल्यो।

बंगलादेशका लागि अफिफ होसेनको ३८ रन सर्वाधिक रहँदा ओपनर नजमुल होसेन सान्टोले २५ रन बनाए। मोसदेक होसेइनले २० रनको अविजित इनिङ खेले।

थप दोहोरो स्कोरका रुपमा नुरुल हुसेनले १३ र सौम्य सरकारले १४ रनको योगदान दिएका थिए। नेदरल्यान्ड्सका पाउल भान मिकेरेन र बास डी लिडले २/२ विकेट लिएका थिए।

१ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि कोलिन एक्रेमनले ६२ रनको अर्धशतकीय इनिङ खेले पनि टिमको हार टार्न पर्याप्त रहेन। उनीबाहेक दोहोरो स्कोरका रुपमा पउल भान मेकरेनले २४ तथा  कप्तान स्कट एडवार्डले १६ रन बनाएका थिए।

बंगलादेशलाई जित दिलाउन तस्किन अह्मेदले ४ विकेट लिँदा हसन महमुदले २ र सकिब अल-हसन र सौम्य सरकारले १-१ विकेट लिए।

जितपछि बंगलादेशको समूह २ मा २ अंक भएको छ। समूहमा  बंगलादेशसँगै  भारत, पाकिस्तान, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र जिमब्वाब्वे रहेका छन्। शीर्ष २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.