|

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन्। 

काठमाडौंमा सोमबार ५ दलीय सत्ता गठबन्धनको कार्यक्रममा अध्यक्ष दाहालले हरेक सफल क्रान्तिपछिका १०–१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्था नउक्सिनु र दले सुशासन दिन नसक्नु प्रमुख कारण रहेको बताएका हुन्।

उनले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेण्डालाई अगाडि राखेर काम नगर्दा सुशासन कायम हुन नसकेको स्वीकारे। 

उनले ठूला परिवर्तन भएको १०-१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखा पर्दै आएको उल्लेख गरे। 

अध्यक्ष दाहालले अहिले पनि एकथरि मानिस राजनीतिक दल र नेताहरुलाई गाली गर्दै आइरहेको र उनीहरू देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागि परेको आरोप पनि लगाए।

उनले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशासनको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गरे। उनले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भएको तर त्यसमा जनतालाई समेटेर क्रान्ति सफल बनाउने कुरामा कमजोर रहेको बताए। 

‘राजनीतिक आन्दोलनले परिवर्तनलाई ल्याएका पनि छन्। चाहे ७ सालको कुरा गरौँ, चाहे ४६ सालको कुरा गरौँ वा ३६ साल वा २०६२–०६३ सम्मका क्रान्तिको कुरा गरौँ। यी सबै ठूला परिवर्तन सम्भव भए तर ठूला परिवर्तन भएको १०-१५ वर्ष बितेपछि त्यो राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरु विस्तारै कमजोर हुँदै जाने खतरा देखा पर्दै आएको छ। अहिले पनि २०६२-०६३ को क्रान्तिपछि नै एकथरि मानिसले पार्टी र नेताहरूलाई गाली गर्ने र अर्कै दिशातिर अन्धकारको सुरुङतिर देशलाई लैजान खोज्ने त्यस्ता मानिस छन्, जो निरंकुशता र सामन्तवादका पक्षधर हुन्,’ उनले भने, ‘राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन र गुड गभर्नेन्स, सुशासनको प्रत्याभूति हामीले दिलाउन सकेनौँ। सुशासनको निम्ति कर्मचारीतन्त्रमा गर्नुपर्ने सुधार, ऐन, कानूनमा गर्नुपर्ने त्यही अनुसारका संशोधनहरू, नयाँ ऐन, कानून बनाउने प्रक्रिया तथा जनतालाई आर्थिक समृद्धिको यात्रा शुरु भयो भन्ने अनुभूति दिलाउने योजना र भिजन तथा मिसनको कमी भयो। राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु तर जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर भएकै हो।’ 

अध्यक्ष दाहालले अहिलेको गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि चाहेको दाबी गरे। उनले स्थिरता र समृद्धिबिना संविधानको रक्षा हुन नसक्ने जिकिर पनि गरे। उनले देशमा सुशासन कायम गर्न कर्मचारीतन्त्रमा सुधार गरी अघि बढ्न आवश्यक रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.