|
तस्विरहरू : विशाल सुनार

दैलेख : कर्णालीको दैलेखमा​ खेलिने लोकनृत्य हो, भोसो। ,जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा पनि भोसो खेलिन्छ।

दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने परम्परा छ ।

जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेलिन्छ। दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायम छ। 

भोसो भिन्न–भिन्न नामले परिचित छ। भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भनिन्छ। आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै मान्दै आएको पाइन्छ। 

यो मूलतः पुरुषप्रधान खेल हो। नारीहरूका लागि रत्यौलीजस्तै भोसोमा पनि अश्लील शब्द प्रयोग गर्ने गरिन्छ। भोसोमा व्यक्त गरिने गालीगलौज विकृतिका रूपमा नभएर सुरुआतकालदेखि नै आएको मान्यता रहेको नारायण नगरपालिका–२ का लालबहादुर थापाले बताए।

पछिल्ला वर्षमा अपशब्द बोल्ने चलन हदैसम्म कम भएको उनले बताए। पुर्खादेखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडि लैजान त्यति सजिलो नभएको उनको भनाइ छ।

भोसोमा सहभागी अर्थात् खेल्नेलाई भुआरा भनिन्छ। भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ। भोसो व्यवस्थापन गर्ने मूलीलाई ‘नायक’ भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भनिन्छ। पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षमा भने छोट्याइएको छ। 

यस्तो छ भोसको प्रक्रिया

गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ। गाउँका‘भुआरा’जम्मा भएर भोसीको सुरुआत गर्छन् । भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो)को जोहो गरिएको हुन्छ। 

दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ। जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्छन्।  

लक्ष्मी पूजाको बिहानीपख भोसी सेलाउने चलन हुन्छ। अथवा भोसी समापन गर्ने चलन हुन्छ। नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ। नारायण नगरपालिका–२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको करिब दुई किलोमिटर टाढा रहेको भुवाखाडामा भोसो सेलाउने परम्परा रहेको स्थानीय लालबहादुर थापाले बताए। 

धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसी, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउने उनको भनाइ छ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिंगी डाली खेल्ने, भैली खेलिन्छ। त्यसपछि भोसी समापन गरिन्छ। 

भोसीको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा रहेको छ। विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, मागल गाउने चलन छ। तर पुस्तान्तरण चुनौतीपूर्ण बनेको छ।

भोसो संस्कृति जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवा बताउँछन् । वर्ष दिनको एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउँछिन्। ‘पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ’, उनले भनिन्, ‘अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.