‘छड्के २’ को प्रदर्शन मिति सार्वजनिक

|

काठमाडौं : निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको नेपाली फिल्म ‘छड्के २’को नयाँ पोस्टरसहित प्रदर्शन मिति पनि सार्वजनिक भएको छ। फिल्मले फागु पूर्णिमाको छेको पारेर फागुन १९ गतेलाई आफ्नो प्रदर्शन मिति तोकेको हो। 

योसँगै फागुन १९ गतेलाई प्रदर्शन मिति तोक्ने फिल्मको संख्या पाँच पुगेको छ। पहिलो हप्तामा एक दिन शनिबार, दुई दिन होली र एक दिन नारी दिवस गरी चारवटा सार्वजनिक बिदा पाइने भएकाले धेरै निर्माताको रोजाइ यो मिति हुन पुगेको हो। यसअघि वर एण्ड बधु, परस्त्री र बुलाकीले आफ्नो प्रदर्शन मिति तोकेको फागुन १९ मै प्रतीक्षित फिल्म छक्कापञ्जा ४ ले आफ्नो प्रदर्शन मिति तोकेको थियो। 

फिल्म निर्माण टोली र प्रदर्शनअघिको हाइपका कारण फागुन १९ छड्के २ र छक्कापञ्जा ४ को भिडन्तको रूपमा हेरिएको छ। छक्कापञ्जा नेपाली फिल्म उद्योगको सबैभन्दा सफल फ्रेन्चाइज हो भने छड्के व्यावसायिक रूपमा असफल भए पनि छड्के २ मा अभिनेता अनमोल केसी मुख्य भूमिकामा रहेका कारण वर्षको प्रतीक्षित फिल्मको सूचीमा छड्के २ पनि रहेको छ। 

दीपक दीपा समूहले बनाएका कुनै पनि फिल्म व्यावसायिक रूपमा असफल भएका छैनन्। छ एकान छ, वडा नं. ६, छ माया छपक्कैदेखि छक्कापञ्जा फ्रेन्चाइजका तीनवटै फिल्म व्यावसायिक रूपमा सफल फिल्म हुन्। अनमोल नेपालका सबैभन्दा महँगा र सफल अभिनेतामध्येमा गनिन्छन्। उनको स्टारडमको पछिल्लो उदाहरण ए मेरो हजुर ४ हो। जसले केजिएफ च्याप्टर २ जस्तो वर्ल्ड वाइड ब्ल्कबस्टर फिल्मसँग जुधेर पनि राम्रो मुनाफा कमाउन सफल भयो। 

तर आशा गरिएका फिल्म नचलेका र छायाँमा परेका फिल्मले व्यावसायिक रूपमा सफलता पाएको उदाहरण पनि धेरै छन्। यस्तोमा फागुन १९ सम्म कुन कुन फिल्म प्रदर्शन मितिलाई लिएर स्थिर रहन्छन् र कुन फिल्मले कस्तो व्यापार गर्छ‚ त्यो भने हेर्न बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.