काठमाडौं : चिसो मौसम सुरु भएसँगै डेंगीबाट संक्रमित हुनेको संख्या विस्तारै घट्दै गएको बताइएको छ। पछिल्लो एक हप्तादेखि अस्पतालमा डेंगीका बिरामी ह्वात्तै घटेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बहिरंग सेवा विभागका प्रमुख शंखर पाण्डे।
अहिले दैनिक दुई सय जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी ओपिडीमा आउने तर उनीहरूमध्ये धेरैलाई डेंगीभन्दा पनि मौसमी रुघाखोकी भएको पाण्डेले बताए। ‘चिसो सुरु भएसँगै डेंगीका बिरामी ह्वात्तै घटेका छन्। हाल दैनिक हाम्रो ओपिडीमा आउने धेरै बिरामीमा डेंगीभन्दा पनि रुघाखोकी तथा ज्वरो जस्तो मौसमी फ्लू भएको पाइएको छ’‚ पाण्डेले भने।
यस्तै टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल शर्मा चालिसेका अनुसार पनि हाल तिहारअघिको तुलनामा अहिले डेंगीका बिरामी धेरै कम भएको बताए। उनले भने‚ ‘पहिलेको तुलनामा अहिले चिसो सुरु भएपछि डेंगीका बिरामी धेरै घटेको पाइएको छ‚ तैपनि पछिल्लो समयदेखिका बिरामीमा घाँटी सहित शरीरको अत्यधिक दुखाइ, लामो समयसम्म ज्वरो आउने, लामो समयसम्म नै खाना रुचि नहुने समस्या देखिएको पाइएको छ’‚ डा. चालिसेले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार गत साउनयता हालसम्म देशभर ४६ हजार ९६८ जना डेंगीबाट संक्रमित भएका छन्। यसै अवधिमा डेंगीकै कारण ५४ जनाले ज्यान गुमाएका छन्। यसरी संक्रमित हुनेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा छन्। बाग्मती प्रदेशमा हालसम्म यो वर्ष ३६ हजार ४४१ जना संक्रमित छन्। यस्तै लुम्बिनी प्रदेशमा ४ हजार ६५६‚ प्रदेश १ मा १ हजार ७५१‚ गण्डकी प्रदेशमा १ हजार २६६‚ सुदूरपश्चिममा १ हजार १८५ जना‚ मधेश प्रदेशमा ७६५ र कर्णाली प्रदेशमा ६६४ जना संक्रमित यो वर्ष भेटिएका छन्।
यस्तै यो वर्ष सबैभन्दा धेरै संक्रमित काठमाडौं जिल्लामा रहेका छन्। काठमाडौंमा हालसम्म १३ हजार ५६६ जना, ललितपुरमा ९ हजार २९५‚ भक्तपुरमा ३ हजार ९६७ जना‚ दाङमा २ हजार २०३ जना‚ चितवनमा २ हजार १८० जना‚ मकवानपुरमा ५ हजार ४५ जना र रूपन्देहीमा १ हजार १७९ जना संक्रमित रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।