|

सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाले शारीरिक अपांगता भएका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ।

आर्थिक अभावमा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गापाले अपांगको निःशुल्क उपचार गर्ने भएको हो।

विकलाङ्ग समूह तथा अपांग बालबालिकाको निःशुल्क उपचार गर्न कपुरकोट गापाले अपांग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग पाँचवर्षे सम्झौता गरेको छ। सम्झौताअनुसार गापाले आफ्नो पालिकाभित्रका १८ वर्ष उमेरसम्मका व्यक्तिको पहिचान, उपचार, शल्यक्रिया, पुनःस्थापना, सहायक सामग्री तथा कृत्रिम अंग उपलब्ध गराउनेछ।

आर्थिक अभावका कारण सामान्य उपचारबाट वञ्चित भई विभिन्न किसिमका समस्या भोग्दै आएका बालबालिकाको उपचार गर्न र उनीहरूलाई सामान्य अवस्थामा फर्काउन निःशुल्क उपचार गर्न थालिएको गापाका अध्यक्ष दुर्गा पुनले बताए। अपांग बालबालिकालाई आवश्यकताअनुसार शिविर सञ्चालन गरेर उपचार गरिने उनको भनाइ छ।

गत वर्षको तथ्यांकअनुसार कपुरकोट गापामा विभिन्न खाले शारीरिक अपांगता भएका झन्डै ३ सय बालबालिका छन्। आउँदा दिनमा यस्ता समस्या आउन सक्ने भएकाले बालबालिका आफैँ हिँडन सक्नेछन्। गोडा नभएकालाई कृत्रिम गोडा राखिनेछ भने बांगो भएकाको शल्यक्रिया गरेर सोझो बनाइनेछ।

अपांग बालबालिकाको निःशुल्क उपचार गर्न अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्र बनेपासँग सम्झौता भएपछि पुनःस्थापना केन्द्रले ८५ प्रतिशत सहयोग गर्ने र १५ प्रतिशत पालिकाले सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले बताए। विगतमा बाल अस्पताल पुनःस्थापना केन्द्रले कहिलेकाहीँ शिविर सञ्चालन गरेर उपचार गर्दै आए पनि पालिकाले नियमित उपचार गर्न थालेको पहिलो भएको उनले जानकारी दिए।

अपांगता पुनःस्थापना केन्द्रका निरीक्षक होमराज केसीले सल्यानका १० पालिकामा अपांगता भएका धेरै बालबालिका भएका र विगतमा पनि शिविर सञ्चालन गरेर उपचार गर्ने क्रममा सबैलाई समेट्न नसकेपछि पालिकाअनुसार सम्झौता गरेर विशेषज्ञ टोलीसहित उपचार गर्न थालिएको बताए। यो कार्यले पालिकाका सबै अपांग बालबालिकाले सहज उपचार पाउने उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.