|

हेटौंडा : सिन्धुपाल्चोक क्षेत्र–२ मा मुख्य प्रतिस्पर्धीका रुपमा २ पूर्वमन्त्री आमनेसामने रहेका छन्। मंसिर ४ गते हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ एमाले र कांग्रेसका २ पूर्वमन्त्री आमनेसामने भएका हुन्।

उक्त निर्वाचन क्षेत्रमा कांग्रेसबाट मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ चुनावी मैदानमा उत्रिएका छन्। ​कांग्रेसका बस्नेत पहिलो पटक सो निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् भने एमालेका तामाङ तेस्रो जित निकाल्दै ह्याट्रिक गर्ने दाउमा छन्।

यसअघिको निर्वाचनमा माओवादीको समर्थनमा उक्त निर्वाचन क्षेत्रबाट चुनाव जितेका तामाङ यो निर्वाचनमा एक्लै चुनावी मैदानमा उभिएका छन् भने पहिलो पटक क्षेत्र फेरेर उम्मेदवार बनेका बस्नेतलाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीसहितको लोकतान्त्रिक वाम गठबन्धनको समर्थन छ।

सिन्धुपाल्चोक–१ बाट चुनाव लड्दै आएका बस्नेत यस पटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरिरहेका थिए तर उक्त क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले दाबी गरेपछि बस्नेतले निर्वाचन क्षेत्र परिवर्तन गर्नुपरेको हो।

तर सभामुख सापकोटाले युवालाई अवसर दिने भन्दै चुनाव नलड्ने घोषणा गरेपछि माओवादी केन्द्रले सापकोटाका भतिज माधवप्रसाद सापकोटालाई सिन्धुपाल्चोक–१ मा उम्मेदवार बनाएको छ।

सिन्धुपाल्चोक–२ मा अहिलेसम्म कांग्रेसले जित्न सकेको छैन। वि सं २०१५ सालदेखि हालसम्म भएको चुनावमा कांग्रेसले उक्त क्षेत्रमा निरन्तर हार बेहोर्दै आएको छ।

गत निर्वाचनमा सिन्धुपाल्चोक–२ मा कांग्रेसको उम्मेदवार नै थिएन। ​कांग्रेसले राप्रपासँगको चुनावी तालमेलका कारण राप्रपाका पशुपति शमशेर राणालाई समर्थन गरेको थियो। राणा एमालेका शेरबहादुर तामाङसँग पराजित भएका थिए।

आगामी निर्वाचनमा सो क्षेत्रमा बस्नेतले एमालेका बलियो उम्मेदवार तामाङको ह्याट्रिक रोकेर कांग्रेसको खाता खोल्नुपर्ने देखिन्छ।

हालसम्म जित निकाल्न नसकेको कांग्रेसलाई यस पटक गठबन्धनका दलहरूको साथ छ। तर बस्नेतलाई गठबन्धनका दलहरूले इमानदारीपूर्वक नसघाए उनलाई निर्वाचन जित्न गाह्रो पर्नेछ।

बस्नेतलाई कांग्रेसभित्रकै विवादले चुनौती खडा गरेको छ। संस्थापन पक्षका नेता बस्नेतलाई संस्थापन इतर पक्षको वर्चस्व रहेको उक्त क्षेत्रमा सबै पक्षको विश्वास जित्नुपर्ने चुनौती रहेको छ।

सो क्षेत्रमा माओवादी केन्द्र पनि विभाजित भएको छ। जसले गर्दा आगामी निर्वाचनमा बस्नेतलाई समस्या पर्न सक्ने अनुमान गरिएको छ।

नेता बस्नेत ०४८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए। आगामी निर्वाचन उनको पाँचौं प्रतिस्पर्धा हो। प्रतिस्पर्धा गरेकामध्ये उनले एउटा चुनाव जित्ने र अर्को हार्ने गरेका छन्।

सिन्धुपाल्चोक–१ बाट ०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५६ को निर्वाचन भने जिते। ०५१ को निर्वाचनमा भने उनले टिकट नै पाएनन्।

०५६ मा टिकट पाएका उनले एमालेका बोहरालाई नै पराजित गरे। यो नै उनको पहिलो जित थियो। राज्य व्यवस्था परिवर्तनपछि ०६४ मा भएको निर्वाचनमा उनी माओवादी केन्द्रका उम्मेदवार राजकुमार श्रेष्ठसँग पराजित भएका थिए।

०७० को निर्वाचनमा भने उनले सिन्धुपाल्चोक–१ बाट चुनाव जिते। उक्त निर्वाचनमा बस्नेतले एमालेका अरुणप्रसाद नेपाललाई पराजित गरेका थिए।

संघीयतापछि भएको पहिलो संसदीय निर्वाचनमा भने उनी पराजित भए। वाम गठबन्धनका कारण उनी माओवादी केन्द्रका अग्नि सापकोटासँग पराजित भएका थिए।

गत निर्वाचनमा माओवादी केन्द्रको पनि साथ पाएर वाम गठबन्धनको सहयोगमा जितेका एमालेका तामाङ यस पटक एक्लै छन्। उनी एक्लामात्र भएका छैनन्‚ उनको पार्टी पनि विभाजित भएको छ।

गत भदौमा एमाले विभाजनपछि केही प्रभावशाली नेता तथा कार्यकर्ता माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आबद्ध भएका छन्। आगामी निर्वाचनमा ह्याट्रिक गर्ने दाउमा रहेका तामाङलाई एमाले विभाजनको असर महँगो पर्न सक्ने जिल्लाका नेताहरू बताउँछन्।

उसो त हाल उक्त क्षेत्रमा एमालेभित्रै पनि विवाद नदेखिएको होइन। यति वेला सो क्षेत्रमा एमालेभित्र पनि समस्या देखिएको नेताहरू बताउँछन्। चुनावसम्म तामाङले उक्त विवाद मिलाउन नसके उनलाई पार्टीबाटै संकट पर्नसक्ने अनुमान गरिएको छ।

सिन्धुपाल्चोक–२ बाट चुनाव लड्दै आएका तामाङ दुई पटक पराजित भएका छन् भने २ वटा चुनाव जितेका छन्।

तामाङले प्रतिस्पर्धा गरेको शुरुवाती २ चुनाव हारेका थिए। मालेबाट पहिलो पटक ०५६ को चुनाव लडेका तामाङ तत्कालीन सिन्धुपाल्चोक–३ बाट पराजित भएका थिए।

त्यसपछि उनी एमालेमा आबद्ध भए। तामाङ ०६४ को निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बने तर जित्न सकेनन्। पछिल्ला दुई वटा चुनाव भने तामाङले जितेका छन्।

तामाङले ०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक चुनाव जिते। त्यसपछि भने सिन्धुपाल्चोकमा २ वटा निर्वाचन क्षेत्र कायम भयो। ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा तामाङ विजयी भए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.