|

जिम्बावेलाई हराउँदै उपाधि दावेदार भारत समूह २ को विजेताका रुपमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

यो खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ।

समूह २ बाट भारत र पाकिस्तान तथा समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

आगामी बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनलमा भारतले इंग्ल्यान्डको सामना गर्नेछ भने बिहीबार एडिलेडमा हुने दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ।

आज भएको खेलमा जिम्बावेमाथि ७१ रनको जित निकाल्दै भारत सेमिफाइनल पुगेको हो।

मेलबर्न क्रिकेट मैदानमा भारतले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको जिम्बावे १७ दशमलव २ ओभरमा अलआउट हुँदै ११५ रनमा समेटियो। जिम्बावेका रायन बर्लले सर्वाधिक ३५ तथा सिकन्दर राजाले ३४ रन जोडे पनि अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ३ विकेट लिए भने मोहमद सामी र हार्दिक पाण्ड्याले २/२ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। भारतका सूर्यकुमार यादवले अविजित रहँदै सर्वाधिक ६१ रनको योगदान गरे। केएल राहुलले ५१ तथा विराट कोहलीले २६ रन बनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.