|

बागलुङ :  मंसिर चार नजिकिएसँगै उम्मेदवार तथा राजनीतिक दलका नेताहरू भोट माग्न बस्ती बस्ती पुगेका छन्। उम्मेदवारहरू जित आफ्नो पोल्टामा पार्न मतदाता रिझाउन खेतबारीदेखि चुलोसम्म पुगेका छन्। यसपटकको निर्वाचनमा बागलुङ–१ मा निकै टक्कर हुने देखिएको छ। अघिल्लो निर्वाचनमा सहयात्री बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सूर्य पाठक अहिले मुख्य प्रतिस्पर्धी बनेका छन्।

अघिल्लो पटक बागलुङ–१ मा बाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका पाठकले नेपाली कांग्रेसकी चम्पादेवी खड्कालाई १३ हजार ४१ मतान्तरले पराजित गरेका थिए। पाठकले ३३ हजार ६५७ ल्याउँदा खड्काले २० हजार ६१६ मत प्राप्त गरेकी थिइन्। तर यस पटक पाँच दलीय गठबन्धनका कारण उनलाई साख जोगाउन मुस्किल छ।

करिब १५ वर्षपछि प्रत्यक्ष चुनावी मैदानमा आउनु भएका केसीलाई पाँच दलीय गठबन्धन साथ रहेको हुँदा पाठकलाई जित हासिल गर्न गाह्रो पर्ने आंकलन छ। २०६४ सालमा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जितेका केसी २०७० समानुपातिकबाट संसद भवन छिरेका थिए। २०७४ को चुनावमा बाम गठबन्धबाट उम्मेदवार बन्ने अफर आए पनि केसीले रुचि राखेनन्।

चार प्रदेश क्षेत्र मध्ये त्यस बेला दुई प्रदेश सभा सदस्य पाएको जनमोर्चाले क्षेत्र नम्बर १ (ख) बाट कृष्ण थापा र २ (ख) टेकबहादुर घर्ती विजयी भएका थिए। घर्तीको निधनपछि उपनिर्वाचनबाट जनमोर्चाकै खिमविक्रम शाही विजयी भएका थिए। क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका इन्द्रलाल सापकोट र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा विजयी भएका थिए।

यसपाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि जनमोर्चाका अध्यक्ष केसी उम्मेदवार बनेपछि अन्य क्षेत्र नेपाली कांग्रेसलाई छोडेको छ। गत निर्वाचनमा दुई प्रदेश सभा जितेको जनमोर्चाले यस पटक एउटा प्रतिनिधि सभा जितेर साख जोगाउने दाउमा छ। यसपाली क्षेत्र नम्बर १ को निर्वाचन निकै रोचक हुने नेता कार्यकर्ताको अनुमान छ। पाठक युवा पुस्तामा निकै लोकप्रिय नेताका रुपमा परिचित छन्। उनको उम्मेदवारीले केसीलाई साख जोगाउन हम्मेहम्मे पर्ने धेरैको आंकलन छ। तर स्थानीय तह निर्वाचन २०७९ को मत परिणामलाई हेर्दा केसी सुरक्षित हुने देखिन्छ।

क्षेत्र नम्बर १ मा चार पालिकामा ३७ वडा छन्। गत स्थानीय तहको मत परिणामलाई हेर्दा गठबन्धनले ३७ वडा मध्ये २९ वडामा गठबन्धनका उम्मेदवार विजयी भएका थिए भने आठ वडामा मात्रै एमालेका उम्मेदवारले जीत हासिल गरेका थिए। गठबन्धनका दलहरू मध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले १९ वडा, माओवादी केन्द्रले तीन वडा, एकीकृत समाजवादीले तीन वडा र राष्ट्रिय जनमोर्चाले चार वडा जितेका छन्।

गठबन्धनले ३१ हजार ६३७ मत पाएको थियो भने नेकपा एमाले २२ हजार ३७६ मत पाएको थियो। यो मत परिणाम हेर्दा गठबन्धन नौ हजार २६१ मतले अगाडि देखिन्छ। यस पटक यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, स्वतन्त्रबाट चन्द्र क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटा, नेपाली कांग्रेस (बीपी) का शिवलाल सापकोटा पनि यस क्षेत्रबाट उम्मेदवार छन्। उनीहरूले पनि केसीको केही मत काट्न सक्ने गठबन्धनका नेता बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.