|

चितवन : चितवनको सौराहासँग ग्रामीण क्षेत्रलाई जोडेर पर्यटन विस्तार गर्नुपर्ने यहाँका नवनिर्वाचित प्रमुख उपप्रमुख तथा वडाध्यक्षहरुले बताएका छन् । सौराहा जेसीजको आयोजनामा शनिबार रत्ननगरको सौराहामा भएको नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा सम्मान कार्यक्रममा उनीहरुले सौराहको पर्यटनलाई विस्तार गरी नेपालकै दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने बताएका हुन्।

चितवनको सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नारायण वनले पहाडी क्षेत्रमा लुकेको पर्यटकीय क्षेत्र सिँराईचुली, उपरदाङगढी, शक्तिखोरलगायत क्षेत्रसँग सौराहाको पर्यटन जोड्नुपर्ने बताए।

उनले पर्यटन र पुर्वाधारको विस्तार गरेर सौराहालाई दोस्रो पर्यटनको गन्तव्य बनाउनुपर्ने बताए। उनले आगामी वर्ष सञ्चालन हुन लागेको पर्यटन वर्ष र नमस्ते नेपाल अभियानलाई प्रभावकारी बनाउन आफ्नो ध्यान जाने उनले बताए।

कार्यक्रममा उपप्रमुख विमला दवाडीले सौराहाको पहिचानलाई जोगाउँदै विकासमा आफु सक्रिय भएर लाग्ने प्रतिक्रिया दिइन्। चितवनको सौराहामा हाल १ सय १० भन्दा बढी सुविधायुक्त होटल छन् भने ६० भन्दा बढी रेष्टुरेन्ट छन्। यहाँ दैनिक २ हजार ८ सय  पर्यटक बस्न सक्ने क्षमता छ।

नवनिर्वाचित प्रतिनिधिहरुलाई सौराहका पर्यटन व्यवसायीहरुले पर्यटन विकासमा लाग्न भन्दै ध्यानाकर्षण गराएका थिए। कार्यक्रममा बोल्दै रत्ननगर नगरपाकिला वडा नम्बर ६ का नवनिर्वाचित अध्यक्ष बलराम दाहालले सौराहा आफैंमा विश्वकै परिचित पर्यटकिय नगरी भएकाले पहिचानलाई उच्च राख्दै पुर्वाधार विकासमा सक्रिय भएर लाग्ने प्रतिक्रिया दिए। रत्ननगरको वडा नम्बर ६ मा सौराहा पर्छ।

यस्तै, वडा नम्बर ७ का अध्यक्ष लालबहादुर भट्ट, राजनले पर्यटन क्षेत्रको विस्तार र विविधिकरण आवश्यक भएको भन्दै सबै क्षेत्रको सहकार्यबाट अघि बढ्ने प्रतिबद्धता जनाए। क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले नवनिर्वाचित जनप्रतिनिधिहरुले पर्यटन विकासका लागि काम गर्ने बेला आएको भन्दै यहाँका समस्याबारे ध्यानाकर्षण गराएका थिए।

 सौराहा जेसिजका अध्यक्ष सूर्यबहादुर तामाङले व्यक्तिको नभई विधिको शासन भयो भने विकासले फड्को मार्ने भन्दै जननिर्वाचित प्रतिनिधिहरुलाई यसतर्फ गम्भीर भएर लाग्न जोड दिए।

सो क्रममा सौराहा जेसिजका महासचिव सन्तोष पुरी,कार्यकारी उपाध्यक्ष शिवप्रसाद भूषल, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ प्रशासकीय अधिकृत रामकुमार अर्याल, वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण महत्तो लगायतले बोल्दै रत्ननगरलाई कृषि र पर्यटन नगरीको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.