|

काठमाडौँ : ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।

आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। ललितपुरको ग्वार्को चोकमा बन्ने​फ्लाइओभर १४ महिनाभित्र बनाइसक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएका आरसी, समानान्तर र रेलिग्रेले शुक्रवारदेखि फ्लाइओभर निर्माण शुरु गरेका हुन्।

फ्लाइओभर निर्माणका लागि डिजाइन लगायतका अन्य आवश्यक पूर्वतयारी भइसकेको छ। चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमा फ्लाइओभर निर्माण गरिनेछ।

ग्वार्को चोकमा पहिलो फ्लाइओभर निर्माण हुन लागेको हो। ६ मिटर उचाइ हुने फ्लाइओभर अन्तरराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ। कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइओभरमा सवारीसाधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्‍याम्प निर्माण गरिनेछ।

शुरुमा ब्यारेकेडहरू राखेर काम शुरु गरिनेछ। काठमाडौँको धेरै सवारी जाम हुने क्षेत्रमध्ये ग्वार्को पनि एक हो। फ्लाइओभर निर्माण कार्य शुरु भएसँगै यातायात सञ्चालनका लागि वैकल्पिक व्यवस्था गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही मंसिर २३ गते बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारीसाधनलाई फास्ट ट्रयाकबाट चलाइनेछ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा ६ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइनेछ। बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, माहलवाहक तथा दुईपांग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपांग्रे सवारीसाधनलाई फास्ट ट्रयाकबाट सञ्चालन गरिने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.