|

काठमाडौं : फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ। राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्। 

क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो।

समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग अर्जेन्टिना २–१ पराजित भयो। त्यसबेला अर्जेन्टिना फाइनलमा पुग्नेमा धेरैलाई आशंका थियो। तर बाँकी खेलमा लोभलाग्दो प्रदर्शन गर्दै अर्जेन्टिना पाचौं पटक फाइनल खेल्दैछ। दक्षिण अमेरिकी च्याम्पियन टोली अब एक खेलमा जित निकाले ३६ वर्षपछि विश्व च्याम्पियन बन्ने पक्का छ।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो। सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भयो।

डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा दोस्रो पटक उपाधि जित्दा अर्जेन्टिनाले जम्मा १२ गोल गरेको थियो। त्यसको २४ वर्षपछि लियोनल मेस्सीको आडमा अर्जेन्टिनाले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा स्थान बनायो। यस संस्करण पनि तगारो जर्मनी नै बन्यो। अतिरिक्त समयमा मारियो गोट्जेले गोल गरेपछि अर्जेन्टिना स्तब्ध बन्यो। उपविजेतामा चित्त बुझाएर घर फर्कियो। तेस्रो उपाधिको सपना पूरा भएन।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो। त्यसको चार वर्षपछि अर्जेन्टिना साविक विजेता फ्रान्ससँग पुरानो बदला लिदै विश्वकप जित्ने योजनामा छ। 

यस सस्करणको विश्कपकमा सुरुवाती खेलमा अर्जेन्टिनाले नतिजा आफ्नो पक्षमा पार्न सकेन। विश्वकप अघिका ३६ खेलमा अपराजित टिम समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग २–१ ले स्तब्ध भएको थियो। तर अर्जेन्टिनाले कमजोरीलाई निरन्तरता दिएन। यस टिमले ६ खेलमा १२ गोल गरिसकेको छ भने पाँच गोल खाएको छ।

समूह चरणमा मेक्सिको र पोल्यान्डविरुद्ध समान दुई–दुई गोलको जित हात पारेको अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो। क्वार्टरफाइनलमा नेदरल्यान्डमाथि टाइब्रेकरमा ४–३ को रोमान्चक जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनमा स्थान बनायो। सेमिफाइलमा साविकको उपविजेता क्रोएसिया ३–० ले पराजित भयो।

फ्रान्स लगातार दोस्रो पटक विश्वकप च्याम्पियन बन्ने तयारीमा छ। अर्जेन्टिनालाई पराजित गर्न सके फ्रान्स ६० वर्षपछि लगातार विश्वकप उपाधि जित्ने पहिलो टोली बन्नेछ।

ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार दुई विश्वकप उपाधि जितेको थियो। १९६६ मा इङल्यान्डले जित्यो भने १९७० मा ब्राजिल तेस्रो पटक च्याम्पियन बन्यो। ६० वर्ष भयो( कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेका छैनन्। १९९८ मा पनि ब्राजिल लगातार दोस्रो पटक विश्व विजेता बन्ने लक्ष्यमा थियो। 

२००२ मा साबिक विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो। फाइनलमा जर्मनीलाई हराएर ब्राजिलले कीर्तिमानी पाँचौँ पटक विश्वकप उपाधि जितेको थियो। ब्राजिल त्यसयता फाइनल पनि पुग्न सकेको छैन।

२००६ मा फ्रान्सलाई उपाधि जित्ने मौका थियो। फाइनलमा इटालीसँग प्रतिस्पर्धा गरेको फ्रान्स पेनाल्टीमा ५-० ले स्तब्ध भयो। फाइनलमा इटालीका मार्को माटेराजीलाई फउल हानेपछि फ्रान्सका जिदान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। पहिलो पटक च्याम्पियन भएपछि फ्रान्सले पाँच विश्वकपमा दुई पटक फाइनलमा स्थान बनायो। २००६ मा चुकेको फ्रान्सले २०१८ मा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक उपाधि जित्यो।

डिडिय डेस्सो फ्रान्सलाई ६० वर्षपछि ब्याक टु ब्याक विश्वकप जित्ने राष्ट्र बनाउने लक्ष्यसहित अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गराउँदै छन्। डिस्सो विश्वकप इतिहासमा लगातार दोस्रो पटक विश्वकप फाइनलमा सहभागी हुने चौथो प्रशिक्षक हुन्। यस्तै दोस्रो विश्व युद्धपछि कुनै पनि प्रशिक्षकले लगातार दुई संस्करणको उपाधि जितेका छैनन्। फ्रान्सले पहिलो पटक उपाधि हात पार्दा गोल्डेन जेनेरेसनको कप्तानी डेस्सोलेनै गरेका थिए। उनकै नेतृत्वमा सन् २००० मा फ्रान्स युरो च्याम्पियन पनि बन्यो।

यो पटक समूह विजेताका रूपमा नक आउट पुगेको फ्रान्सले पोल्यान्ड, क्वार्टरफाइनलमा इङल्यान्ड र सेमीफाइनलमा मोरक्कोलाई हराएर फाइनलमा पुगेको हो। यो संस्करणको विश्वकपमा फ्रान्सले १३ गोल गर्दा पाँच गोल खाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.