|

धनगढी : कैलालीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा बर्साएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ स्थित हरैयामा स्थानीयले बुधबार प्रहरीमाथि ढुंगामुढा गरेका हुन्।

बिहानैदेखि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेकोमा प्रहरीले बल प्रयोग गरेर खुलाउन खोज्दा ढुंगामुढा गरिएको स्थानीयले बताएका छन्। प्रहरीले पनि ढुंगामुढा भएपछि ३९ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ। स्थानीयले गोदावरीको स्याउले र हरैयामा राजमार्ग बन्द गरेका छन्।

उनीहरूले गोदावरीको लालपुरमा टिपरले अटोरिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु भएको घटनालाई लिएर विरोध जनाइरहेका हुन्। प्रदर्शनकारीले अहिले पनि अवरोध जारी राखेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। 

आज बिहान गोदावरी नगरपालिका-६ लालपुरमा पूर्वबाट पश्चिमतर्फ आइरहेको सुपप्र ०१००१ क २०२० नम्बरको टिपरले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा बालकको मृत्यु भएको थियो।

टिपरको ठक्करबाट अटोमा सवार ३ वर्षीय बालक भरत ठकुल्लाको मृत्यु भएको हो। ​ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि हरैयामा तनाव उत्पन्न भएको बताइएको छ।

उनकी २९ वर्षीया आमा पेन्टी ठकुल्ला पनि दुर्घटनामा घाइते भएकी छन्। उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। अटोचालक २८ वर्षीय मोहन बोहरा पनि घाइते भएका छन्।

टिपर र चालक धनगढी उपमहानगरपालिका-७ बस्ने ४२ वर्षीय प्रदिप चौधरी र टिपरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। घटनाको विरोध गरिरहेका स्थानीयसँग प्रहरीले वार्ता गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक वासुदेव भट्टले बताए। उनले अहिले वार्ता भैरहेको र सहमति गरिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.