|

काठमाडौं : सन् २०१८ मा विश्वकप फुटबलको आयोजक रूसले १६ अर्ब डलर खर्च गर्‍यो। तुलनात्मक रूपमा त्यो रकम त्यसअघि २०१४ को आयोजक राष्ट्र ब्राजिलले विश्वकपका लागि गरेको खर्चभन्दा कम थियो।

रूसले विश्वकपका लागि नौवटा अन्तरराष्ट्रियस्तरका नयाँ स्टेडियम बनायो भने तीनवटा पुराना स्टेडियमलाई मर्मत गरी मापदण्ड अनुसारका बनायो। 

विश्वकपकै लागि भनेर बनाएका स्टेडियम प्रतियोगिता सकिएपछि प्रयोगमा नआएको, पहिले नै योजना नबनाउँदा अर्बौँको घाटा आयोजकले भोग्नु परेको उदाहरण वर्षौँदेखि सुनिँदै आएको थियो। जसमा रूसलाई आफूहरू सचेत छौँ भन्ने लाग्थ्यो। 

खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेपछि देशमा फुटबलको माहोल पहिलेभन्दा बढ्ने‚ क्लब फुटबल र लिगले नयाँ उचाइ लिने रूसको अनुमान थियो। अधिकांश स्टेडियमको खर्च क्लबहरूलाई स्टेडियम भाडामा दिएर उठाउन सकिने योजनामा रूस थियो तर विश्वकपका लागि बनाइएका अत्याधुनिक र ठूला स्टेडियमहरूमा क्लबका खेलहरू खेलाउने योजना सफल हुन सकेन।

कुल क्षमताको १५ प्रतिशत दर्शक पनि मुश्किलले आए। जसले गर्दा कुनै पनि क्लबरहरू विश्वकपमा प्रयोग भएका स्टेडियम लिन आकर्षित भएनन्। 

नयाँ बनेका नौवटा स्टेडियममध्ये आजको दिनमा कजान एरिना नामक स्टेडियम मात्रै सफलताका साथ सञ्चालनमा छ। जसलाई बहुआयामिक ठाउँको रूपमा विकसित गरिएको छ। उक्त स्टेडियममा साना फुटबल लिगहरूदेखि कन्सर्ट र फेसन शो पनि आयोजना गरिन्छ। होटल, बार रेष्टुराँ पनि त्यहीँ भित्र बनाइएको छ।

त्यसअघि विश्वकप आयोजनाका लागि झण्डै २० अर्ब डलर खर्च गरेको ब्राजिलका स्टेडियमको अवस्था अझ खराब बन्यो। विश्वको सबैभन्दा ठूलो फुटबलप्रेमी देश भनेर चिनिने ब्राजिलले पनि विश्वकपका लागि बनेका स्टेडियमको सही सदुपयोग गर्न सकेन।

केही स्टेडियममा क्लब फुटबलको आयोजना भयो तर हजारौँ सिट खाली रहे। ४० हजार दर्शक क्षमता रहेको मानुस शहरमा बनाइएको एरिना दि एमाजोनिया एउटा क्लबलाई जिम्मा दिइयो। त्यहाँ फुटबल हेर्ने दर्शक मुश्किलले एक हजार मात्रै हुन्थे।

ब्रासिलियाको स्टेडियो नेशनललाई बस स्टप बनाइयो, नतालमा बनेको एरिना दस दुनासमा विवाह तथा विभिन्न पार्टी तथा सेमिनार गरेर खर्च उठाउने गरेको छ। अरबौँ खर्च गरेर बनाइएका धेरै स्टेडियम अझै पनि बन्द छन्। जहाँ विश्वकपका चारवटा खेल मात्र खेलाइयो। वर्षौँ लगाएर बनाइएका स्टेडियम केवल ६ घण्टा प्रयोगमा आए। 

२ खर्ब २० अर्ब डलर
कतारले विश्वकप आयोजना गर्नका लागि २ खर्ब २० अर्ब डलरभन्दा बढी खर्च गरेको छ। जुन यसअघिका दशवटा विश्वकप आयोजना हुँदा भएको खर्च सबै जोड्दा पनि बढी हो। सन् २०१० मा विश्वकप आयोजकको रूपमा चुनिएपछि कतारले द्रुत गतिमा भौतिक संरचना बनाउन थाल्यो र विश्वकपका लागि आठ अत्याधुनिक स्टेडियम सहित होटल तथा अपार्टमेन्ट तयार गर्‍यो। 

विश्वकप सकिएलगत्तै नयाँ बनेका स्टेडियम कतारले के गर्छ भन्ने प्रश्न सबैको मनमा उठेको छ। साढे १४ करोड जनसंख्या र १ करोड ७० लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको रूस र २१ करोडभन्दा बढी जनसंख्या र ८५ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको ब्राजिलले सदुपयोग गर्न नसकेको विश्वकपका स्टेडियम ३० लाख जनसंख्या र ११ हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको कतारले के गर्ला?

विश्वकपका लागि कतार पुगेका लाखौँ दर्शक आफ्नो देश फर्किसकेका छन्। देशको इतिहासमै सबैभन्दा बढी मानिस एकसाथ भेला भएका मानिस फर्किएपछि कतार अब सुनसान भएको छ। 

यो भनेको कतारका लागि अब विश्वकपपछिको योजना कार्यान्वयन गर्ने समय हो। थोरै जनसंख्या र यसअघि खेलकुदका ठूला प्रतियोगिता आयोजना नगरेका कारण कतारले विश्वकपका लागि बढी समय र पैसा खर्च गर्नु पर्‍यो। जसकारण विश्वकप सकिएपछिको व्यवस्थापन पनि अन्य देशको तुलनामा झन्झटिलो हुनेमा कतार पहिले नै सजग थियो। 

कतार सबैभन्दा ठूलामध्येका ८० हजार दर्शक क्षमता भएको लुसेल स्टेडियम र ६० हजार क्षमताको अलवायत स्टेडियमलाई मल्टिप्रपोस भेन्युमा परिणत गर्ने योजनामा छ। जहाँका सिटहरू क्याफे र अन्य शपका प्रयोग गर्ने, कन्सर्ट र फेशन शोसँगै पिचमा सामुदायिक खेल खेलाउने बताइएको छ। 

त्यस्तै अहमद विन अलि, अल जनाव र अल थुमामा लगायतका स्टेडियमको आकार घटाएर फुटबलकै लागि प्रयोगमा ल्याउने र कतारलाई एशियन कप, एशियन गेम जस्ता ठूला प्रतियोगिताका लागि उपयुक्त ठाउँको रूपमा विकास गर्ने तयारी कतारको छ। 

९७४ वटा कन्टेनर प्रयोग गरेर बनाइएको विश्वकपको इतिहासकै पहिलो अस्थायी स्टेडियम ९७४ को प्रयोग भने सकिइसकेको छ। ४४ हजार ८९ दर्शक क्षमता रहेको उक्त स्टेडियममा विश्वकपका ७ खेल खेलाइएको थियो। तीमध्ये अन्तिम खेल ब्राजिल र दक्षिण कोरियाबीचको प्रिक्वाटरफाइनल खेल थियो। 

सबै स्टेडियमको पूर्वयोजना बनाइएको भए पनि विश्वकपका लागि बनाइएका होटल तथा अपार्टमेन्टलाई लिएर भने निर्माताहरू चिन्तित छन्। तीमध्ये केहीको निर्माण पूरा पनि भएको छैन। कतार विश्वकपलाई अहिलेसम्मकै सफल विश्वकप भनिरहँदा यसको आलोचना पनि उत्तिकै भयो। स्टेडियम बनाउँदा श्रमिकमाथि भएको ज्यादतीले मानवअधिकारवादीको ध्यान तानिरह्यो, कतार विश्वकपलाई बाइकट गर्ने जमात पनि ठूलै देखियो। साथै प्रतिबन्धित समलिङ्गी तथा समूर्ण एलजिबिटिक्यु समुदायको प्रतिनिधित्व गर्ने इन्द्रेणी रंगको झण्डाका कारण पनि कतारको आलोचना भयो।

भर्खरै विश्वकप सकिएको छ। प्रतियोगितापछि भौतिक संरचनालाई कसरी प्रयोग गर्नेबारे कतारसँग योजना भए पनि कार्यान्वयन र विश्वकपको प्रभाव योजना गरिएअनुसार हुन्छ या हुँदैन त्यो भने हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.