|

काठमाडौं : सरकार गठनका लागि ३ दिनमात्र बाँकी रहँदा पाँचदलीय सत्ता गठबन्धनमा सहभागी दलहरूबीच शक्ति बाँडफाँडका विषयमा छलफल चलिरहेको छ।

छलफलका लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनको दाबी पेश गर्न पुस १० गते आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्। सत्ता गठबन्धन दलहरू भने संघदेखि प्रदेशसम्मकै शक्ति बाँडफाँडको छलफलमा जुटेका छन्। तर दाबी पेश गर्ने दिन आउनै लाग्दासमेत प्रधानमन्त्री को हुने भन्ने सहमति हुन सकेको छैन।

प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले दाबी गरेका छन्। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा र माओवादी संसदीय दलको नेतामा आज सर्वसम्मत भएका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन्।

संसदीय दलको नेतामा चयन भएलगत्तै देउवासँग छलफलका लागि माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपालभन्दा केहीबेरपछि बालुवाटार प्रवेश गरेका प्रचण्ड र देउवाबीच अहिले छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ।

माधव नेपाल अस्पतालको शय्याबाट प्रतिनिधिसभा सदस्यको शपथ लिन नयाँ बानेश्वर आएर फर्किँदा प्रधानमन्त्री निवास बालुवाटार पुगेको केहीबेरमै प्रचण्ड पनि बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.