|

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक उडाएको आरोप लगाएका छन्।

सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन्। प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेकाले संसदको विधिअनुसार विश्वासको मत लिँदासमेत कांग्रेसले अवरोध गरेको उनले बताए। 

गृहमन्त्री लामिछानेले सरकार व्यक्तिकेन्द्रित नभई विषयकेन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने दावी गरे। उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्तिकेन्द्रित माग सम्बोधन हुन नसक्ने बताए।

‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने सवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो। प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था हो‚’ उनले भने, ‘आइतवार प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिन उभिएको थिएँ। गिरीबन्धु जग्गाको विषय बिर्सेको होइन। त्यसमा पनि को-को सहभागी छन् छानबिन गर्नुपर्छ।’

उनले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्क्याउने काम नगरेको दावी पनि गरे।

उनले सरकारले सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाए। उनले प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्तिकेन्द्रित नभई संवेदनशील र विषयकेन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताए।

‘मैले प्रतिपक्षी दललाई धम्क्याएको र तर्साएको होइन। विगतमा पत्रपत्रिकाहरुमा मेरो जस्तै आएका समाचारहरुलाई आधार मानेर संसदीय समिति बनाउने हो भनेर उदाहरण दिएको हो‚’ उनले भने, ‘संसदीय समिति गठन गर, सहकारी ठगलाई कारबाही गर म पनि भन्छु। सरकारले सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्छ। प्रमुख प्रतिपक्षले व्यक्तिकेन्द्रित भएर नाराबाजी गरिरहेको छ। सरकार व्यक्तिकेन्द्रित नभइ संवेदनशील र विषयकेन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.