कत्तिको घातक छ ‘बीएफ.७’

|

काठमाडौँ : चीनमा ओमिक्रोनको सब भेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्ने  जोखिम उच्च रहेको भन्दै सरकारले सीमा नाकामा स्वास्थ्य सतर्कतामा कडाइ गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार पछिल्लो समय ओमिक्रोनको उपप्रजाति बीएफ.७ का संक्रमित छिमेकी देशमा बढ्न थालेसँगै हवाइ तथा स्थलगत सीमानाकाका सबै हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताएका छन्।

‘हालसम्म हाम्रोमा ओमिक्रोनको उपप्रजाति बीएफ.७ का संक्रमित त भेटिएका छैनन् तर जोखिम भने उच्च छ। त्यसैले हामीले सीमानाकामा उच्च सतर्कता अपनाउन र नाकाबाट आउनेको ओमिक्रोनको सब भेरियन्ट बीएफ.७ लक्षण भएकालाई परीक्षण गर्न निर्देशन दिएका छौँ’‚ डा अधिकारीले भने।

यस्तै अब पुनः भर्खरै विदेशबाट आएकाहरूलाई कोभिड परीक्षण गर्न समेत भनिने समेत डा. अधिकारीले बताए। ‘पछिल्लो समय हाम्रोमा कोभिडको परीक्षण गराउने संख्या घटेको छ तर अब कोभिड परीक्षणको दर बढाउनुपर्ने छ। जनस्वास्थ्यको मापदण्ड पुनः कडाइका साथ पालना गर्नुपर्ने अवस्था आएको छ’‚ डा अधिकारीले भने।

हाललाई जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्ने सीमानाकामा कडाइ गर्दै लैजाने भए पनि भारत तथा अन्य देशमा हुने संक्रमण दर हेरी थप सतर्कताको निर्णय गरिने समेत डा. अधिकारीले बताए।

कत्तिको आक्रामक छ ओमिक्रोनको उपप्रजाति बीएफ.७

हालसम्मको विवरणअनुसार ओमिक्रोनको उपप्रजाति ‘बीएफ.७’ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा अलि आक्रामक रहेका विवरण आइरहेको डा. अधिकारीले बताए।

डा. अधिकारीका अनुसार संक्रमण भएपछि ‘बीएफ.७’को लक्षण ओमिक्रोनको भेरियन्टको जस्तै टाउको दुख्ने, घाँटी खसखसाउने तथा नाकबाट पानी बग्ने जस्ता लक्षण देखिने भए पनि संक्रमणको हिसाबले हालसम्म देखिएको ओमिक्रोन तथा यसका अन्य भेरियन्टभन्दा अलि बढी संक्रामक रहेको देखिएको छ।

हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको नलगाएको र कति समयअघि खोप लगाएका थिए भन्ने कुरा प्रष्ट रूपमा खुलेपछि मात्रै भन्न सकिने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘ओमिक्रोनको सब भेरियन्ट ‘बीएफ.७’ अब नेपालमा पनि ढिलो चाँडो त फैलन्छ तर यो कत्तिको घातक हुन्छ भन्ने कुरा भने हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको वा नलगाएको वा कति समय अघि खोप लगाएको र खोप लगाएको भए कुन खोप लगाएका थिए भन्ने कुरा प्रष्ट रूपमा खुलेपछि मात्रै भन्न सकिन्छ। यदि हाल यो भेरियन्टबाट संक्रमितहरूले पूर्ण खोप लगाएर पनि बुस्टर डोज खोप लगाएका थिए भने ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.७’ घातक खालको रहेछ भनेर बुझ्नुपर्छ’‚ डा. पुनले भने।

‘अर्को कुरा हाल हाम्रोमा पनि चीनमा उत्पादन भएको खोप लगाएका छौं’, यदि चीनमा हाल संक्रमितहरूले चीनमै उत्पादित खोप लगाएर पनि संक्रमित भएका हुन् भने खोपको प्रभावकारिता ज्यादै न्यून रहेको र  नेपालमा बीएफ.७’ ले घातक रूप लिनसक्छ’‚ उनले भने। 

बीएफ.७ मा रोग प्रतिरोधात्मक क्षमतालाई छल्ने क्षमता पनि देखिएको छ। यस्तो अवस्थामा यो सबभेरियन्ट खोप लगाएका व्यक्तिका लागि पनि खतरनाक हुनसक्छ। केही अध्ययनले बीएफ.७ को प्रजनन दर (आर) पनि उच्च देखाएको समेत डा. पुनले बताए।

चीनमा विकसित भेरोसेल तथा सिनोफामका खोपको प्रभावकारिता पनि कम भएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि भेरोसेल र सिनोफाम प्रयोग भएका छन् ।

हाल चीनमा यही खोप लगाएकाहरूमा खोपको प्रभावकारिता कम भएर ‘बीएफ.७’ घातक रूप लिएको हो भने नेपालमा पनि यो भेरियन्टले घातक रूप लिनसक्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन्।

‘हाम्रोमा पनि धेरैले चीनमा उत्पादन भएको खोप लगाउनु भएको छ। यदि हाल चीनमा संक्रमितहरूले भेरोसेल तथा सिनोफामका खोप लगाएका हुन खोपको प्रभावकारिता कम भएर बीएफ.७’संक्रामक भएको हो भने हाम्रोमा पनि यसले असर गर्न सक्छ’‚ मन्त्रालयका ती अधिकारीले भने।

बुस्टर डोज खोप लगाउनु राम्रो

डा. पुनका अनुसार हाल नेपालमा धेरैले खोप लगाए पनि पछिल्लो समय बुस्टर डोज खोप लगाउनको संख्या घट्दै गएको अवस्थामा खोप लगाएकाहरूको पनि एन्टीबडी घट्दै गएको हुँदा बुस्टर डोज नलगाएकाहरूले बुस्टर डोज खोप लगाउनु उत्तम हुने बताउँछन्। ओमिक्रोनको स्वरूप निरन्तर परिवर्तन भइरहेको अवस्था छ। यस्तो अवस्थामा खोप लगाइयो भने संक्रमणबाट हुने घातक खालको जोखिम कम गर्न सक्छ’‚ डा. पुनले भने।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ७९ लाख ७२ हजार ७९१ जनाले मात्रै कोरोना भाइरसको बुस्टर डोज खोप लगाएका छन्। उक्त खोप लगाएको समय पनि एक वर्ष भइसकेको छ।

राष्ट्रिय खोप सल्लाहकार समितिको मिति ०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रिस्तरीय मिति २०७९ कात्तिक १७ गतेको निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर अर्थात् चौथो खोप शुरु गर्न भनिएको थियो।

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि हालसम्म ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप आइसकेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार हाल नेपालमा ४७ लाख ६८ हजार खोप मौज्दात छ। जसमा ४० लाख खोप चीनमा उत्पादन भएको सिनोफाम र बाँकी फाइजर खोप रहेको छ। डा. चौरसियाका अनुसार जनवरीको पहिलो हप्ता नेपालमा केही मात्रामा कोरोनाविरुद्धको फाइजर खोप आउने समेत बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.