|

काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।

ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।

इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको नि:शुल्क शल्यक्रिया गरिएको इन्स्टिच्युटका मेडिकल डाइरेक्टर डा. सञ्जय खड्गीले जानकारी दिए।

उनले आर्थिक अवस्था कमजोर भएर समस्या भए पनि समयमा शल्यक्रिया गर्न नसकेका विपन्न विरामीको खोजी गरेर उनीहरूलाई नि:शुल्क शल्यक्रिया सेवा दिएको बताएका छन्।

खड्गी इन्स्टिच्युटले स्थापना कालदेखि नै विपन्न विरामीका लागि नि:शुल्क शल्यक्रिया गर्दै आएको छ। यसले दैनिक ४ जना विपन्नको अत्यन्त कम शुल्कमा शल्यक्रिया गर्दै आएको छ। शिविरमा आएका विरामीको शल्यक्रियाका साथै औषधि तथा शय्या शुल्क समेत नि: शुल्क गरिएको थियो।

पत्थरी शल्यक्रियामा मिनी पीसीएनएल विधि र प्रोस्टेट ग्रन्थिका लागि बाइपोलार टर्भ विधिबाट ठूलो चिरफार नगरी शल्यक्रिया गरिएको थियो। ३१ जना विपन्न विरामीलाई करिब ३४ लाख बराबरको सेवा निःशुल्क गरिएको डा. खड्गीले बताए।

डा. खड्गीले आगामी दिनमा पनि यस्तो खालका विपन्न विरामीलाई लक्षित गर्दै नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरिने बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.