|

बैतडी : कोरोना संक्रमणको जोखिम बढ्दै गएकोले भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा परीक्षणमा कडाइ गरिएको छ।

छिमेकी देश चीन र भारतमा कोरोना संक्रमण फेरि देखिन थालेपछि नाकामा कडाइ गरिएको हो। 

झुलाघाटमा हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किरहेका नागरिकलाई कोरोना परीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

छिमेकी देश भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेकाले त्यसको जोखिम कम गर्न सीमा नाकामा कडाइ गरिएको हो।

उनले भने,“ झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको सीमामै कोरोना परीक्षण गर्ने गरेका छौं। स्वदेश फर्किने नागरिकले उनीहरुले खोप पाए/नपाएको बारे यकिन गर्ने काम पनि भइरहेको छ। ”

भारतबाट स्वदेश फर्कने नागरिकले खोप नलगाएको भएमा सीमा नाकामै कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्ने तयारी भएको जनाएको छ। 

छिमेकी देशहरुमा कोरोनाको जोखिम बढ्दै गएपछि भारतको सीमासँग जोडिएको बैतडीमा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले पनि आग्रह गरेको छ।

कोरोनाको जोखिम कम गर्न भौतिक दुरी व्यवस्थापन गर्नुपर्ने, भिडभाड भएका ठाउँमा नजान र जानै परे स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ। 

यसका साथै यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले आग्रह गरेका छन्। 

भारतसँग सीमा जोडिएको बैतडीमा अहिले सम्म कोरोनाबाट १९ जनाको ज्यान गइसकेको छ। हाल भने जिल्लामा कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.