|

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको हालको सबै संरचना भत्काएर नयाँ भवन बनाउने तयारी अघि सारिएको छ। 

तीन महिनापछि भवन बनाउन थाल्ने गरी प्रक्रिया शुरु गर्ने गरी केही दिनअघि मात्रै अस्पतालको भवन निर्माणका लागि टेण्डर आह्वान गरिएको छ। 
झन्डै ३ अर्बको लागतमा बल्न लागेको टेकु अस्पतालको परिसरमा रहेको हालको संरचना भत्काएर नयाँ भवन बनाइने अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। 'तीन वर्षमा सबै संरचना बनाइसक्ने गरी नयाँ भवन बनाउन लागिएको हो, आगामी तीन महिनामा निर्माण प्रक्रिया शुरु हुन्छ'‚ सूचना अधिकारी गौतमले भने।

हाल स्वास्थ्य सेवा विभाग रहेको परिसरको सबै (७२ रोपनी) जग्गा टेकु अस्पतालको मात्रै भए पनि हाल अस्पतालले करिब १७ रोपनी जग्गा मात्रै उपभोग गर्दै आएको र सोही जग्गामा नयाँ भवन बन्ने गौतमले बताए। 'विभागले प्रयोग गरिरहेको सबै जग्गा टेकु अस्पतालकै नाममा छ तर अहिले अस्पतालले प्रयोग गर्ने भनेको १७ रोपनी मात्रै हो। यही जग्गामा नयाँ भवन बनाउन लागिएको हो'‚ गौतमले भने। टेकु अस्पतालले अर्को ठाउँमा उपयुक्त जग्गा नभेटेपछि साविककै ठाउँमा नयाँ भवन बनाउन लागिएको हो। ​

अस्पतालको सेवा खुम्चने

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइए पनि केही समयसम्म अस्पतालको सेवा आंशिक रूपमा प्रभावित हुन सक्ने गौतमले बताए। 'हालका भवन पालैपालो भत्काउँदै नयाँ बनाउनुपर्ने हुँदा केही समय अस्पतालको सेवामा केही कम हुन सक्छ तर हामीले सकेसम्म आएका विरामीलाई फर्कने वातावरण बनाउँदैनौँ'‚ गौतमले भने।

हाल अस्पतालले विभिन्न सेवा दिँदै आएका भवन विरामीको सेवालाई ध्यानमा राख्दै पालैपालो भत्काइने गौतमले बताए। शुरुमा अस्पतालको हाल बहिरंग विभाग रहेको छेउको आवास, टिकट काउन्टरको पहेँलो भवन र एआरटी सेन्टरको भवन भत्काइने र उपचारका लागि अस्थायी संरचना निर्माण भइसकेपछि मात्र मुख्य भवनहरू आइसीयू, आकस्मिक र वार्ड भत्काइने उनले बताए।

अस्पतालको अस्थायी संरचनाका लागि हाल इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा रहेको भवन पनि भवन निर्माण सम्पन्न नहुँदासम्म प्रयोग गर्न दिने कुरा भएकाले सहज हुनसक्ने गौतमको भनाइ छ।

यसबीचमा कोभिड,डेंगु जस्ता संक्रमण बढे कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको भवनबाट पनि केही समय टेकु अस्पतालको सेवा दिन सकिने विषयमा समेत छलफल भइरहेको गौतमले बताए। 

यस्तो बन्नेछ नयाँ भवन

हाल अस्पतालले बनाएको नयाँ भवनको डिजाइनअनुसार नयाँ भवन ६ तलाको हुनेछ। ६ तले भवनमा सबैभन्दा तल बेसमेन्टमा ५० वटा चारपाङ्ग्रे र २ सयभन्दा बढी मोटरसाइकल अट्ने पार्किङ रहनेछ। भुइँतलामा आकस्मिक, बहिरंग कक्ष र रेडियोलोजी विभाग रहनेछन्।

पहिलो तलामा प्रयोगशाला, बहिरंग कक्ष, फिभर वार्ड रहनेछ। दोस्रो तलामा अनुसन्धानमूलक विशेष प्रयोगशाला, जनरल वार्ड, इमर्जिङ आइसोलेसन वार्ड रहनेछन्।

तेस्रो तलामा पोषण, प्रत्यारोपण, हेमाटोलोजी, मेलिगेन्सी वार्ड, नवजीवन वार्ड रहनेछन्। चौथोमा रेबिज/टिटानस, चर्मरोग विभाग र टीबी वार्ड रहेनछन्। त्यसैगरी पाँचौँ तलामा ३० शय्याको आईसीयू बेड, शल्यक्रिया, भीभीआईपी क्याबिन र सेमिनार हल रहनेछ। छैटौँ तलामा लन्ड्री तथा क्यान्टिन रहने  गौतमले बताए।

यसैगरी विरामी र कर्मचारीका लागि छुट्टाछुट्टै लिफ्ट रहनेछ भने सबै खालका गरी नयाँ भवनमा तीन सय  शय्या हुने गौतमले बताए।
 

आधुनिक समयमा अझै अब्बल बन्नु पर्छ टेकु अस्पताल

टेकु अस्पतालका पूर्वनिर्देशक डा. अनुप बाँस्तोलाका अनुसार आधुनिक समयमा पनि नयाँ नयाँ किसिमका सरुवा रोग आउँदै गएको हुँदा टेकु अस्पताललाई थप व्यवस्थित र सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको हुँदा आफू निर्देशक रहेको समयमा पनि नयाँ भवनको निर्माणका लागि धेरै गृहकार्य गरेको बताउँछन्। सरुवा रोग विशेषज्ञ समेत रहेका डा. बाँस्तोलाले भने‚ 'हामीले भर्खरै कोभिड जस्तो ठूलो सरुवा रोगको महामारी भोगेर आएका छौँ। यसले आधुनिक समयमा पनि सरुवा रोगको उपचार, यसको अनुसन्धानलाई विशेष प्राथमिकता दिनुपर्छ भन्ने हो। त्यसैले हाम्रो देशमा रहेको एक मात्रै केन्द्रीय सरुवा रोग अस्पतालको सेवा समयसँगै बिस्तार गर्दै लानुपर्छ।'

टेकु अस्पताललाई केवल सरुवा रोगको उपचार मात्रै गर्ने अस्पतालभन्दा पनि सरुवा रोगसम्बन्धी अध्ययन र अनुसन्धान गर्ने केन्द्र बनाउन सके राज्यलाई धेरै सहज हुने समेत उनको भनाइ छ।

कोरोना महामारीले अस्पतालमा चहलपहल बढ्यो

कोरोना महामारी अघिसम्म कुकुरले टोकेको, सर्पले टोकेका बिरामीको उपचार गर्ने भनेर चिनिएको टेकु अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) महामारी पछि भने चहलपहल बढेको हो। कोरोना परीक्षण गराउन तथा खोप लगाउन टेकु नपुगी धरै छैन।

कोभिड महामारीअघि  टेकु अस्पतालमा सरुवा रोगहरू टाइफाइड, ज्वरो, एचआईभी भएकाहरूलाई २०६० सालदेखि एआरभी औषधि वितरण तथा डट्स क्लिनिक, एचआईभी परामर्श क्लिनिक, कुकुर, बाँदर, चितुवा, भालु, मुसाले टोकेका विरामीको उपचार, सर्पदंशका विरामी, हैजा, झाडापखाला लागेका, डेंगु, कालाजार, टिटानस, स्वाइन फ्लू, जापानी इन्सेफ्लाइटिस लगायतका बिरामीको  उपचार नियमित रूपमा गर्दै आएको थियो। हाल पनि विभिन्न खालका सरुवा रोगका विरामी देशभरबाटै रिफर भएर आउने गर्छन्। डा. बाँस्तोला टेकु अस्पताललाई सरुवा रोगको रिफर सेन्टरको रूपमा समेत अब्बल रूपमा परिमार्जन गर्दै लानुपर्ने आवश्यकता आएको बताउँछन्। 


 
९० सालको हैजाले जन्माएको अस्पताल
वि.सं. १९९० सालको भूकम्पपछि फैलिएको हैजाले जन्माएको हो टेकु अस्पताल। २०९० सालमा भूकम्प गएपछिको कुरा हो। त्यसताका हैजाले मुलुक आक्रान्त  थियो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबै हैजाको सिकार बन्न बाध्य भए। १ सयजना हैजाकाविरामी आउँदा ५० जनाको ज्यान  जान्थ्यो। त्यतिखेर ५० जनालाई बागमतीमा जलाइन्थ्यो।

अस्पतालमा उपलब्ध भएको ढड्डा अनुसार हैजाले मानिस मर्न थालेपछि हैजा रोक्न १९९० सालमा डाइरेक्टर अफ मेडिकल सर्भिसेज अन्तर्गत रोप–वे टर्मिनल (जहाँ हाल साल्ट ट्रेडिङको भवन रहेको छ) रहेको टेकुस्थित पाटीमा ‘कलेरा अस्पताल’ स्थापना भएको हो।

२००७ सालमा भने रोप–वे टर्मिनलको प्राङ्गणबाट टेकु अस्पताल अहिलेको प्राङ्गणमा सरेको हो तर शुरुमा टेकु अस्पताल वीर अस्पतालको शाखा थियो।  

२०३४ सालमा टेकु अस्पताल स्वायत्त भएको हो। २०३४ सालदेखि वीर अस्पतालको शाखा नभएर देशकै केन्द्रीय सरुवा रोग अस्पतालको रूपमा अस्पतालले आफ्नो सेवा दिँदै आएको छ।

प्रारम्भिक चरणमा अस्पताल भवन हालको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको भवनमा थियो। तत्कालीन समयमा प्रधानमन्त्री जुद्धशमशेर जंगबहादुर राणा थिए।

२०९० सालको हैजाले जन्माएको टेकु अस्पतालको नाम पटकपटक फेरिएको छ। स्थपनाको वेला कोलेरा अस्पताल भनेर चिनिने यो अस्पताललाई २०३४ सालमा सरुवा रोग अस्पताल नामकरण गरियो।

त्यसपछि २०५३ जेठमा टेकु अस्पताल र २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामकरण भएको थियो। स्थापनाकालदेखि नै सरुवा रोगको मात्रै उपचार गर्दै करिब ९ दशकको यात्रामा रहेको टेकु अस्पताल नेपालको जेठो अस्पतालमध्येको एक हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.