|

जनकपुरधाम : मेयर र उपमेयरको विवादका कारण धनुषाको नगराइन नगरका हजारौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसिएको छ।

धनुषाको नगराइन नगरपालिकामा मंसिर १८ गतेदेखि सबै सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।

नगरसभाबाट बजेट पास नहुँदा शिक्षकहरू ६ महिनादेखि तलबभत्ता नपाएका कारणले पठनपाठन छाडेर आन्दोलनमा उत्रिएपछि नगर क्षेत्रमा भएका सबै सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको हो।

नगरपालिका विवादका समाधान गर्न पटक पटक सर्वदलीय सर्वपक्षीय बैठक गरे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताए।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार बुधवार पनि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयको सहभागितामा सहमतिको प्रयास गर्दा पनि सहमति हुन सकेन।

नगराइन नगरपालिकामा माध्यमिक तहका ३, निमावि ४ तथा प्रावि तहका ९ गरी कुल १६ वटा विद्यालय रहेका छन्।

शिक्षकहरूले साउन महिनादेखिको तलबभत्ता नपाएपछि घरपरिवार चलाउन समस्या उत्पन्न भएको भन्दै तलबभत्ता पाउनुपर्ने माग गरी नगरपालिकामा आएर दैनिक रूपमा धर्ना दिन थालेका छन्। यसबाट विद्यालयको पठनपाठन करिब १ महिनादेखि ठप्प छ।

योजना सञ्चालन तथा भुक्तानीको विषयलाई लिएर दुई पक्षका विवादका कारण पढ्न पाउने विद्यार्थीको मौलिक तथा संवैधानिक अधिकारमाथि कुण्ठित गर्ने काम हुनु दुःखद रहेको स्थानीय पल्टु यादवले बताए।

विद्यार्थीले पनि पठनपाठन हुनुपर्ने माग गर्दै आन्दोलन गरेका छन्। उपमेयर सहित वडाध्यक्षहरूले कुनै सुनुवाइ नगरेका कारण अहिलेसम्म पठनपाठन हुन नसकेको  विद्यार्थी विनिता कापरले बताइन्। 

मूल रूपमा नगरपालिकामा नगरपालिका स्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिका सदस्य वा कार्यालय प्रतिनिधिको रोहवरमा गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोमा त्यसलाई २०७६ मा संशोधन गरी ‘वडास्तरीय योजना बाहेक अन्य आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा मेयरले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था गरिएपछि उपमेयर सहितका बहुमत वडाध्यक्षले विरोध गर्दै २०७४ को पुरानै ऐन कार्यान्वयन वा संशोधन गरिएको बुँदा खारेजको माग गर्दै आएका छन्।

लगातार विद्यालय बन्द भएकाले नगरपालिकाले सञ्चालन गर्ने अर्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसइईको परीक्षा फाराम भर्ने सहितका अन्य काम गर्न समस्या भएको छ। यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराइन नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सूर्यनारायण साहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.