|

जनकपुरधाम :  एक सातादेखि बढ्दै गएको चिसोका कारण धनुषामा जनजीवन प्रभावित भएको  छ।

चिसोका कारण कतै मानवीय क्षति भएको छ। धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नम्बर-१ का मनोज यादवको चिसोका कारण मृत्यु भएको छ।

एक सातादेखि आक्रामक बनेको चिसो र शीतलहर दिनानुदिन बढ्दै गएपछि मधेशको जनजीवन प्रभावित भएको हो।

उचित बसोवास र खानपानको अभावमा चिसोका कारण विपन्नको ज्यान गइरहेको अधिकारकर्मी राजु पासमानले बताए।

हरेक वर्ष चिसोको प्रभावबारे राज्य जानकार रहे पनि समयमै कुनै पनि राहतको कदम नचालेको जनकपुरधामका चन्देश्वर सदाले आक्रोश पोखे। रामेश्वर महराको पनि उस्तै गुनासो  छ।​

त्यसैगरी दलित बस्तीहरूमा परालले छाएको घरमा बस्ने गर्छन्। पराल ओछ्याएर सुत्नु र परालको आगो ताप्नु उनीहरूको विवशता हो। यसरी उनीहरूले रात काट्न मुस्किल हुने गरेको सुनिता राउतले बताइन्।

जिल्ला विपद् व्यवस्थापनको जिम्मेवारी समेत रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परेका वेला राहतका लागि तयार रहन पालिकाहरूलाई निर्देशन दिइसकेको बताउँछन्।

राज्यका जिम्मेवार निकायहरूले राहतका लागि समन्वय र तयारी भइरहेको दावी गरिरहँदा विपन्न जनता चिसोले कठ्याङ्ग्रिँदै छन्। विपद्ले जनता आक्रान्त भइसकेपछि राज्यले राहतका लागि राज्यले चासो देखाउने परम्पराले राहतभन्दा पनि औपचारिकता मात्र प्रदर्शन गरेको विनोद महराले बताए।

विपद् व्यवस्थापन समितिका संयोजक रहेका प्रमुख जिल्ला अधिकारीको तर्कले पनि यस्ता विपद्सँग लड्न कुनै पूर्व तयारी हुन नसकेको संकेत गरेको छ।

उता शुक्रवार प्रदेशका गृहमन्त्री नेतृत्वको प्रदेश विपद् व्यवस्थापन समितिले मधेशका आठवटै जिल्लालाई तत्काल राहतका लागि जिल्लापिच्छे आठ/आठ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

तराई मधेशमा एक सातादेखि शीतलहर कायम छ। १७ पुसदेखि शुरु भएको शीतलहर अझै तीन दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

जाडोका कारण धनुषामा सामुदायिक विद्यालयमा बिदा दिइएको छ भने बजारमा चहलपहल घटेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्रकुमार महासेठ बताउँछन्।

नेपाली सेना, उद्योग वाणिज्य संघ सहितका संघ संस्थाको अगुवाइमा ठाउँ ठाउँमा काठ र दाउराको बन्दोबस्त गरी आगो ताप्ने व्यवस्था गरिएको देखिन्छ। एक सातादेखि घाम उदाउन छोडेपछि जनजीवन थप प्रभावित भएको हो।

भाइरल सङ्क्रमण ज्वरो, निमोनिया, रुघाखोकी सहितको बालबालिका तथा वृद्धवृद्धा विरामीको संख्या अस्पतालमा बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.