|

काठमाडौं : ‘अवतारः द वे अफ वाटर’ यतिवेला हलमा सबैभन्दा बढी शोका साथ प्रदर्शन भइरहेको छ। चौथो हप्तामा प्रदर्शनरत फिल्ममा दर्शकको उपस्थिति क्रमशः घट्दो छ। दर्शक कम भएकै कारण केही शाे रद्दसमेत गरिएकाे थियाे भने ‘अवतार २’ पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न सकेका छैनन्। 

अघिल्ला वर्षको आँकडा हेर्दा पनि हिउँद याममा फिल्म हलको चहलपहल तुलनात्मक रुपमा कम हुने गर्छ। यो वर्ष पुसमा प्रदर्शन भएको हलिउड फिल्म ‘अवतार २’का कारण पुसको पहिलो र दोस्रो हप्ता दर्शकको चाप राम्रो थियो। क्रिसमस तथा अंग्रेजी नयाँ वर्षले गर्दा पनि ‘अवतार २’मा दर्शकको कमी हुन पाएन। 

वितरकका अनुसार ‘अवतार २’ले हालसम्म ८ करोडको आँकडा पार गरिसकेको छ। सँगै ‘स्पाइडरम्यानः नो वे होम’को कीर्तिमान भंग गर्दै कोरोना महामारीपछि नेपालमा सर्वाधिक कमाइ गर्ने हलिउड फिल्म पनि बनेको छ। त्यसयता प्रदर्शनमा आएका बलिउड तथा नेपाली फिल्मले भने दर्शकलाई हलसम्म तान्न सकेका छैनन्। 

सफल बलिउड निर्देशक रोहित सेट्टीको फिल्म ‘सर्कस’ले अन्य देशमा जस्तै नेपालमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेन। त्यसपछि प्रदर्शनमा आएको आर्यन सिग्देल तथा उपासना सिंह ठकुरी अभिनीत नेपाली फिल्म ‘डिसेम्बर फल्स’ र गत शुक्रबार प्रदर्शनमा आएको मल्टिस्टारर हरर नेपाली फिल्म ‘चि मुसी चि’लाई पनि लगानी सुरक्षित गर्न कठिन देखिएको छ। 

आगामी शुक्रबारदेखि दुई नेपाली फिल्म ‘गुञ्जन’ र ‘तिम्रो मेरो साथ’ सँगै दुई वटा दक्षिण भारतीय फिल्म ‘वरिसु’ र ‘वाल्टर विरैया’ एकसाथ प्रदर्शनमा आउँदैछन्। चार फिल्म एकसाथ प्रदर्शनमा आए पनि सबै फिल्मको लागि दर्शकको चासो हेर्दा हलमा चाप भने खासै नबढ्ने देखिन्छ। यद्यपी अहिलेको तुलनामा भने दर्शकको उपस्थिति राम्रो हुने अनुमान गरिएको छ। 

यसपछि हलमा दर्शकको चाप बढाउन सक्ने फिल्मको रुपमा ‘पठान’लाई हेरिएको छ। शाहरुख खानको कमब्याक फिल्म ‘पठान’ जनवरी २५ देखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ। त्यसपछिको ठूलो मितिको रुपमा फागुन १९ लाई हेरिएको छ। जुन मितिमा दीपक दिपा समूहको ‘छक्का पञ्जा ४’ र अनमोल केसी अभिनीत ‘छड्के २’ प्रदर्शनमा आउँदैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.