|

दाङ : 

बिग्रिएको बाटोमा, बतासले धुलो उडाउँछ।
विचरो चालकले, जसोतसो गाडी गुडाउँछ।।
आफन्त भेट्न जाने, यमराजले हो, की लाने?
हिउँदमा धुलो छ, बर्खामा खाल्टाले गाडी डुबाउँछ।।।
सेटिङमा मिलाए, ठेक्का आफैलाई दिलाए।
कमिसन खाए, विचौलिया नेता मिलाए।।
कसले कति खाए, बाटो बर्बाद बनाए।।
न्याय कसले दिन्छ, न्यायको मूर्ति आफै बिलाए।।।

यो मुक्तक कुनै प्रतियोगितामा नभइ डाक्टर लोकराज पराजुलीले मंगलबार दाङको घोराहीस्थित ट्राफिक चोक नजिकै सडक कविता वाचन कार्यक्रममा वाचन गरेका थिए।  

अलपत्र तुलसीपुर– घोराही चारलेन सडक बारे ‘सडकमै’ कविता  वाचनको कार्यक्रम आयोजना गरिएको थियो। सचेत नागरिक दाङको ब्यानरबाट कविता वाचन कार्यक्रम राखिएको भए पनि त्यसको नेतृत्व भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि दाङ  निर्वाचन क्षेत्र  २ मा उम्मेदवार बनेका इन्जिनियर विशाल अधिकारीले गरेका थिए। 
कार्यक्रममा डाक्टर पराजुली, कमलमणि देवकोटा, श्रवण नेपाली, सुदन पौडेल,  लक्ष्मी बुढाथोकी, कुबेर गन्धर्व र बिक्रम गन्धर्वले चारलेन सडकको अवस्था र त्यसबारे सृजित परिस्थिति बारे आ–आफ्नो रचनाहरू प्रस्तुत गरेका थिए।

यस्तै कार्यक्रममा सहभागीहरूले ओइ सरकार।  कतिपटक म्याद थपेपछि बन्छ, घोराही– तुलसीपुर सडक।। हटाउ फोरलेनको एम्बुस। भन कति चाहन्छौँ घुस।। न एयरपोर्ट, न सडक, धेरै भयो नेताजीको चटक जस्ता लेखेका पम्पलेट समेत बोकेका थिए।

त्यसपूर्व कार्यक्रमको सुरुवातमै इन्जिनियर अधिकारीले चारलेन सडकको वर्तमान अवस्था र समाधानका लागि गरिएको पहलकदमी र किन ठेक्का रद्द आवश्यक छ? भन्ने बारे प्रस्तुतिहरू राखेका थिए। 

उनले तत्काल नयाँ ठेक्कामा जानुपर्ने धारण पनि रोखका थिए। सडक कविता वाचन कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी भुसाल र नेपाल अपांग संघ दाङका कोषाध्यक्ष वसन्तराज भट्ट लगायतको उपस्थिति रहेको थियो।

केही दिन अगाडि मात्र चार लेन सडक निर्माण आयोजना रद्द गर्न माग गर्दै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई दाङको निर्वाचन क्षेत्र ३ का उम्मेदवार कमल सुवेदी र निर्वाचन क्षेत्र २ का उम्मेदवार अधिकारीले ज्ञापनपत्र बुझाइएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.