|

काभ्रे :  लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट जिल्ला मातपोत कार्यालय काभ्रेले एक सूचना जारी गरेसँगै माघ २ गतेबाट खुल्ने भएको छ। मालपोत अधिकृत गंगाप्रसाद पोखरेलले भू–उपयोग नियमावली २०७९ कार्यान्वयनमा आइसकेको अवस्थामा जग्गाको वर्गीकरण भइसकेका स्थानीय तहहरुबाट आएका भू–उपयोग परिषद्को निर्णयअनुसार सबै कित्ता जग्गाको जग्गा धनि श्रेस्ता पूर्जा तथा नक्सामा अध्यावधिक गरेर जग्गाको कित्ताकाट खुला गर्न लागेको बताए।

तर, उनका अनुसार धुलिखेल र बनेपा नगरपालिकामा मात्रै कित्ताकाट हुनेछ। यी दुई पालिकामा जग्गा वर्गीकरण मिलेकाले कित्ताकाट खुल्ला गरिएको हो।

जिल्ला मातपोत कार्यालयमा जग्गा वर्गीकरण गरेर पठाएको धुलिखेल र बनेपा नगरपालिका तथा चौरीदेउराली र खानीखोला गाउँपालिकामध्ये चौरीदेउराली र खानीखोलाको भने वर्गीकरणमा समस्या देखिएकोले पुनः वर्गीकरणका लागि पठाइएको छ।

अन्य स्थानीय तहको भने जग्गा वर्गीकरणका लागि निवेदन नपरेको मालपोत कार्यालयले जनाएको छ।

‘जग्गा वर्गीकरण भएकामध्ये बनेपा र धुलिखेलमा मात्रै कित्ताकाट खुलाएको छ। खानीखोला र चौरीदेउराली गाउँपालिकालाई पुनः वर्गीकरण गर्न भनेका छौँ,’ उनले भने, ‘४ वटाबोहक अन्य पालिकाबाट वर्गीकरण भएको पत्र आएको छैन। वर्गीकरण भएर आउनेबित्तिकै कित्ताकाट खुल्नेछ।’

लिखत रजिष्ट्रेशन पास बैंक तथा वित्तीय संस्थाहरुको रोक्का, नामसारी दाखालगायत अन्य निवेदनसम्बन्धी सेवा भू–उपयोग वर्गीकरण क्षेत्र खुल्ने गरी स्थानीय तहबाट सिफारिस आएपश्चात् मात्र सेवा प्रवाह गरिने मालपोत कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.