|

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकिएपछि यतिखेर विद्यार्थी संगठनका नेताहरू आन्तरिक तयारीमा जुट्न थालेका छन्। उनीहरू विद्यार्थी संगठनको भूमिकाबारे अन्तरक्रिया, भेटघाटलगायत कार्यक्रम आयोजना गरिरहेका छन्।

पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ। त्रिविले पनि २८ पुसमै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ। यो निर्वाचनलाई विद्यार्थी नेताहरूले एउटा उत्सवकै रूपमा लिएका छन्।

‘यो स्वागत योग्य छ तर पूर्ण समानुपातिक प्रणाली लागू हुनुपर्छ’

नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले लामो समयपछि स्ववियु निर्वाचन मिति तोकिएकोमा खुशी व्यक्त गरे। ‘लामो समयपछि स्ववियु निर्वाचनको समय तोकिएका छ, यो स्वागतयोग्य छ, हामीले आन्तरिक संगठनको बैठक बस्ने‚ प्रदेश, जिल्लाका पदाधिकारीहरूले पनि बैठक बस्ने गरिरहेका छौँ,’ उनले भने।

उनका अनुसार ३ प्रदेशमा निर्वाचनबारे बैठक सम्पन्न भएको छ। बाँकी प्रदेशमा यही ५ गतेभित्र सम्पन्न गर्ने उनले बताए। उनले भने, ‘यो निर्वाचनलाई विद्यार्थीहरूले उत्सवको रूपमा लिने निर्णय पनि गरेका छौँ, हामीले विभिन्न माग लिएर त्रिविका कुलपति एवं प्रधानमन्त्री, उपकुलपतिलाई ज्ञापनपत्र पनि बुझाइसकेका छौँ।’

उनले सबै क्याम्पसहरूमा स्ववियु निर्वाचन गर्न माग गरेको बताए। ‘त्रिविका आंगिक क्याम्पसमा मात्रै निर्वाचन गराउने भनेर त्रिविले तयारी गरेको छ,’ उनले भने, ‘यो गलत छ, निजी क्याम्पसहरूमा धेरै विद्यार्थीको चाप छ, त्यहाँ पनि नयाँ नेतृत्व निर्माण हुनुपर्छ।’

उनले निजी विद्यालयमा बढी लगानी हुने तर नीति नियम नमान्ने प्रवृत्ति रहेको बताए। ‘निजीमा भएका भ्रष्टाचारविरूद्ध पनि हामी केन्द्रित छौँ, त्यहाँ पनि निर्वाचन गराएर त्यहाँ भएका विकृति विसंगतिको भण्डाफोर गर्नुपर्छ,’ उनले भने।

उनका अनुसार पछिल्लो समय निर्वाचन धेरै खर्चिलो बन्दै गएको छ। ‘देशको निर्वाचन खर्चिलो भयो, धनीहरूले पैसा पेल्ने र प्रतिस्पर्धा गर्ने गरे, अन्य क्षमता भएकाहरू खर्च गर्न नसक्दा ओझेलमा परे। यो प्रवृत्ति पनि हटाएर समान ढंगले प्रतिस्पर्धा गर्ने सन्देशको माध्यम हामी बन्न लागिपरेका छौँ,’ उनले भने। स्वतः क्याम्पसका टपरहरू स्ववियूको सदस्य बन्ने प्रावधान राखिनुपर्ने उनको माग छ।

शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न तत्पर छौँ : नेविसंघ

नेपाल विद्यार्थी संघले त्रिविले तोकेको निर्वाचन मितिको स्वागत गर्दै शान्तिपूर्ण ढंगबाट सम्पन्न गरी विद्यार्थीहरूको हकहितको रक्षा र सम्मान गर्न तत्पर रहेको बताएको छ। संघका अध्यक्ष दुजाङ शेर्पाले चैत ५ गते हुने स्ववियु निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न त्रिविको ध्यानाकर्षण गराए।

निर्वाचनका लागि तयारी रहन देशभरका नेविसंघका विद्यार्थी नेताहरूलाई समेत उनले आग्रह गरे। उनका अनुसार निर्वाचनमा सशक्त ढंगले सहभागी भइ निर्वाचनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यकताअनुसार समन्वय गरी समिति विस्तार तथा तथा उपसमिति गठन भएको छ।

‘त्रिविअन्तर्गतका धेरै क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा शैक्षिक मुद्दा र सामाजिक‚ राजनीतिक सवाल ओझेलमा परेका छन, यसको हल गर्न आवाजको खाँचो महसुस भएको छ,’ विज्ञप्ति नै जारी गरेर शेर्पाले भनेका छन्।

समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगार सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएका ढिलासुस्ती र नीतिगत कठिनाइ चिर्न स्ववियु निर्वाचन अनिवार्य शर्त भएको उनले बताए।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले पनि निर्वाचन मितिको स्वागत गर्दै तोकिएकै समयमा सम्पन्न गर्न आग्रह गरिन्। निर्वाचनको मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको आन्तरिक तयारीमा जुटेको जानकारी दिँदै उनले भनिन्, ‘विगत लामो समयदेखि निर्वाचन हुन नसकेको वेला मिति तोक्नु साह्रै खुशीको कुरा हो। हामी राम्रोसँग निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन लागिरहेका छौँ।’

१४ वर्षपछि हुँदै निर्वाचन 

विद्यार्थीको मतद्वारा चुनिने वैधानिक संस्था हो- स्ववियु। क्याम्पस कलेजका लागि आमनिर्वाचन जतिकै यसको महत्व हुन्छ। यो निर्वाचनबाट योग्य नेतृत्व छानिन्छ र उसले विद्यार्थीको हक–अधिकारको निम्ति काम गर्छ।

क्याम्पसहरूमा रहेका बेथिति अन्त्य गर्न आवाज बुलन्द पार्छ तर १४ वर्षदेखि नियमित निर्वाचन नहुँदा विश्वविद्यालय सभादेखि क्याम्पसहरूका महत्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन। 

त्रिविले २०६५ साल अघिसम्म शैक्षिक क्यालेण्डरमा २/२ वर्षमा फागुन १४ गते चुनाव गराउने कार्यतालिका राखेर स्ववियु निर्वाचन गराउँदै आएको थियो। तर त्रिवि क्याम्पसमा १४ वर्ष अर्थात् २०६५ सालयता नियमित निर्वाचन हुन सकेको छैन। त्रिविका ६२ वटा आंगिक क्याम्पस छन्।

०६५ चैत ६ गतेपछि ८ वर्षमा २०७३ चैत १५ गते स्ववियु चुनाव भएको थियो। त्यसवेला देशभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य (आरआर), जनप्रशासनसहित उपत्यकामा ९ आंगिक र उपत्यका बाहिरका १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। 

त्रिविका तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै स्ववियु निर्वाचन गर्न त्रिविलाई निर्देशन दिएपछि त्रिविले फागुन १४ मा चुनाव गर्ने तयारी गरेको थियो। त्रिवि विद्यार्थी कल्याण परिषद्ले फागुन २८ मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। तर उक्त समय धकेलिएपछि चैत ५ गतेको समय तोकिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.