|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिएसँगै आफ्नो नेतृत्वमा सरकार गठनको तयारी गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रैबाट मन्त्री पदको आकांक्षीको सख्या बढ्न थालेपछि पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् निर्माण गर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदलाई पत्राचार गरेपछि देउवाको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठनको बाटो खुलेको हो। संसदको ठूलो दल नेपाली कांग्रेसलाई तेस्रो ठूलो दल माओवादी केन्द्रले समर्थन गर्ने औपचारिक निर्णय गरेपछि देउवा मन्त्रिपरिषद् निर्माणको गृहकार्यमा जुटेका हुन्।

नयाँ बन्ने सरकारमा कुन दलबाट कसलाई कुन मन्त्रालयसहित सरकारमा सहभागी गराउने भन्ने बिषयमा सुझाव दिन कांग्रेसका तर्फबाट उपप्रधानमन्त्री विमलेन्द्र निधि र मन्त्री रमेश लेखक र माओवादीको तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा र मन्त्री जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार नयाँ सरकारमा प्रभावशाली मन्त्रालयहरु कुन दलले लिने भन्ने बिषयमा निर्णय भएको छैन। गृह र अर्थमध्ये एक नेपाली कांग्रेस र अर्को माओवादी केन्द्रले लिने विगतकै सहमति अनुसार मन्त्रालय तोकिने भएको छ। एमाले नेतृत्वको सरकारले ल्याएको चालु आर्थिक बर्षको बजेटको सीमाभित्र रहेर नै आगामी आर्थिक बर्षको पनि बजेट ल्याएकोले अर्थ मन्त्रालय लिन देउवाले अनिच्छा देखाएका छन्।

माओवादी केन्द्रका नेता महरा र शर्मा दुवैले अर्थ भन्दा पनि गृह मन्त्रालय चाहियो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिइरहेका छन्। तर कांग्रेसले गृह मन्त्रालय लिएमा त्यसको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीले पाउने सम्भावना छ। अर्थ मन्त्रालय कांग्रेसले नै लिने स्थिति आएमा महेश आचार्यले पाउने सम्भावना छ। दुई सय सात सांसद रहेको कांग्रेसमा २५ जना आकांक्षीले आफूलाई मन्त्री बनाउन सभापति देउवालाई दबाब दिएका छन्। 

हालका मन्त्रीलाई नदोहोर्‍याइने  

प्रचण्ड नेतृत्वको सरकारमा रहेका कांग्रेस नेताहरुले समेत पुन सरकारमा सहभागी हुन पाउनुपर्ने भन्दै  देउवालाई दबाब दिएका छन्। तर सभापति देउवा भने हाल मन्त्री भएकाहरुलाई मन्त्रीमा नदोहोर्‍याउने पक्षमा दृढतापूर्वक उभिएका छन्। ‘अहिलेकै मन्त्रीपरिषदमा पर्न पाइन भनेर गुनासो गर्ने यति धेरै सांसद छन्, अब बन्नेमा दोहोर्‍याउने  पक्षमा म छैन’, सभापति देउवाको भनाई उधृत गर्दै नेता मीन बिश्वकर्माले थाहाखबरसँग भने।

सभापति देउवालाई उनकै गुटका उपप्रधानमन्त्री विमलेन्द्र निधि, रक्षामन्त्री बालकृष्ण खाँड, भौतिक पूर्वाधार मन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले पुन मन्त्रीपरिषदमा समावेश गर्न दबाब दिएका छन्। महामन्त्री डा. शशांक कोइरालाले पनि केन्द्रीय सदस्य दीपक गिरीलाई पुन दोहोर्‍याएर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाएर पठाउने तयारी गरेका छन्। 

मन्त्रीका आकांक्षीलाई सम्झाउन देउवा र पौडेललाई धौधौ

मन्त्रीका आकांक्षीको सख्या धेरै भएपछि पार्टी सभापति देउवा र नेता रामचन्द्र पौडेल यतिबेला तनावमा छन्। ‘दैनिक पचास भन्दा बढी सांसदले फोन गरेर यस पटक त मन्त्री बनाउनै पर्छ भन्छन्’, देउवाको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ‘सबैलाई मन्त्री बनाउन सकिँदैन, जसले मन्त्री पाउँदैन उ रिसाउँछ, यसले स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा असर गर्छ ,त्यसैले हाल १/२ जनालाई लिएर मात्र सरकार बनाउँछु।’

केही केन्द्रीय सदस्यले भने सभापति देउवालाई दोश्रो चरणवको निर्वाचनमा सकारात्मक असर गर्ने भन्दै मधेसी, जनजाति, थारु, मुस्लिम, दलित समुदायलाई समेटेर मन्त्रिपरिषद निर्माण गर्न सुझाव दिएका छन्।

सभापति देउवालाई अर्का नेता रामचन्द्र पौडेलले पनि निर्वाचन अघि ठूलो आकारको मन्त्रिपरिषद निर्माण नगर्न सुझाएका छन्। कतिपयले भने केन्द्रीय कार्य समिति र विभागलाई पूर्णता दिएर अघि बढ्न पनि सुझाव दिएका छन्।

कांग्रेसमा मन्त्री पदको लागि आकांक्षी मात्र होइन मरिहत्ते गर्नेको सख्या बढ्दै गएको छ। सात वटा गुट र उपगुटमा बिभाजित कांग्रेसमा मन्त्रीको आकांक्षीको सख्या बढेपनि नेताहरुले क कसलाई मन्त्री बनाउन भन्ने निष्कर्षमा भने पुगेका छैनन्।

कुन गुटबाट को को आकांक्षी ?

देउवा गुटबाट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, एनपी साउद, वीरबहादुर बलायर, भीष्मराज आङदम्बे, मीन विश्वकर्मा, महेन्द्र यादव, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, अम्बिका बस्नेत, इश्वारी न्यौपाने र सांसदहरु पद्मनारायण चौधरी र अर्जुन जोशी मन्त्रीका आकांक्षी छन्। राज्यमन्त्रीमा सांसदहरु अमृत अर्याल, रामहरि खतिवडा, केशव थापा, डा.अमरेशकुमार सिंह, हरेशकुमार महतो, भरतकुमार साह र ध्यानगोविन्द रञ्जित आकांक्षी देखिएका छन्।

नेता रामचन्द्र पौडेल गुटबाट भने मन्त्रीमा आनन्द्रप्रसाद ढुंगाना, डा. मिनेन्द्रप्रसाद रिजाल, बलबहादुर केसी, डा. चन्द्रमोहन यादव, रामकृष्ण यादव, टिएल चौधरी, सरिता प्रसाईं मन्त्री र राज्यमन्त्रीका आकांक्षीको रुपमा उभिएका छन्। 

महामन्त्री डा. शशांक कोइरालाले भने केन्द्रीय सदस्य दीपक गिरीलाई पुन मन्त्री बनाउन सभापति देउवालाई दबाब दिएका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने राजन केसी र दीपक कुइँकेललाई राज्यमन्त्रीमा सिफारिस गरेका छन्। केन्द्रीय सदस्य डा. रामशरण महतले समेत केसीलाई मन्त्रिपरिषदमा राख्न पौडेललाई दवाव दिएका छन्।

पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको गुटबाट भने सांसद भीमसेनदास प्रधान, सुधीरकुमार शिवाकोटी र अमृतलाल राजवंशी आकांक्षी छन्। तर सिटौलाबाट शिवाकोटी र राजवंशीमध्ये एक र प्रधान गरी दुई जना सिफारिस हुने करिब पक्का भएको छ।

प्रभावशाली नेता खुमबहादुर खड्काले भने मोहनबहादुर बस्नेत र आफ्नी पत्नी शिला खड्कामध्ये एक जनालाई मन्त्रीमा सिफारिस गर्ने भएका छन्। प्रभावशाली नेता रामचन्द्र पौडेल निकट मानिएका केन्द्रीय सदस्य महेश आचार्य र सांसद दीपक खड्का दुवै जना सभापति देउवाको सिफारिसमा मन्त्री र राज्यमन्त्रीमा पर्न सक्ने वुढानिलकण्ठ स्रोत बताउँछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.